३ दिनदेखि अवरुद्ध बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु
मेयरसाप डेस्क
|
१५ घण्टा अगाडि
काठमाडौं । वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ । बिहीबारदेखि नै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिए ।
मौसम खुलेकाले आज पनि बिहानदेखि नै सडक सफा गर्ने काम सुरु भएको उनले बताए । अहिले बिपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको पहिरो पन्छाउने काम भइरहेको छ । यसैगरी पिप्लेमाथि पनि सडक सफा गर्ने काम सुरु भएको छ ।
बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिका स्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध गरेको छ । त्यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको छ ।
मौसमले साथ दिए आज दिउँसोसम्म सडक सफा भएर यातायात सञ्चालन हुने सडक डिभिजन कार्यालयले जनाएको छ । बिपी राजमार्ग छेउमा सञ्चालन गरिएका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गमा क्षति पु¥याउँदै आएको छ । सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका छन् भने केही वैकल्पिक बाटो प्रयोग गरी काठमाडौं गएका छन् ।
Facebook Comments