प्रधानमन्त्री कार्की र महेश बर्तौलाबीच बालुवाटारमा चर्काचर्की
संसद् विघटनको मुद्दामा आरोप–प्रत्यारोप
मेयरसाप डेस्क
|
१८ घण्टा अगाडि
काठमाडौं । सरकार, राजनीतिक दल र जेन–जी समूहबीच बुधबार बालुवाटारमा आयोजित त्रिपक्षीय संवाद कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेता महेश बर्तौलाबीच चर्को भनाभन भएको छ ।
संवादका क्रममा एमाले नेता बर्तौलाले सरकारको संवैधानिकता र संसद् विघटनको विषयलाई लिएर प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।
बर्तौलाले प्रधानमन्त्री कार्कीमाथि सिधै प्रहार गर्दै भनेका थिए, ‘यो सरकारको जग नै असंवैधानिक छ । असंवैधानिक ढंगबाट बनेको सरकारले अराजनीतिक र गलत तरिकाले संसद् भंग गर्यो । निःसर्त संसद् पुनस्र्थापना हुनुपर्छ । यो एमालेको बटमलाइन हो, अहिलेको प्रधानमन्त्री सर्वोच्चमा हुँदा संसद् विघटनको मुद्दा हेर्नुभएको थियो ।’
बर्तौलाको यो भनाइलाई प्रधानमन्त्री कार्कीले तत्काल प्रतिवाद गर्दै भनेकी थिइन, ‘यस्तो नचाहिँदो कुरा नगर्नुस् तपाईँ । मैले संसद् विघटनको मुद्दा हेरेको छैन । नभएको कुरामा भ्रम सिर्जना पनि नगर्नुस् ।’
प्रधानमन्त्रीको प्रतिवादपछि पनि बर्तौला रोकिएनन् । उनले पुनः प्रश्न गर्दै भने, “मुद्दा नहेरे पनि संसद् पुनस्र्थापना हुनुपर्छ भनेर सार्वजनिक रूपमा बोल्नुभएको त छ नि?“
जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो अडानमा अडिग रहँदै भनिन्, ‘मैले त्यसरी बोलेको छैन । दुई चार जना फतुरे पत्रकारले के–के लेखे, मलाई थाहा छैन ।’
तीन पक्षलाई एकै ठाउँमा राखेर समस्या समाधानको प्रयास गरिरहेको संवादमा शीर्ष तहबाटै चर्काचर्की भएपछि बैठक केही समय तनावग्रस्त बनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
Facebook Comments