भारी वर्षाले कागबेनी–कोरला सडक खण्डका १० स्थानमा पहिरो

सडक संरचना पूरै ध्वस्त

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/dsc07901.JPG

मुस्ताङ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुस्ताङको कागबेनी–कोरला सडकखण्ड गम्भीर रूपमा प्रभावित भएको छ । सडकका विभिन्न १० भन्दा बढी स्थानमा लेदोसहितको बाढीपहिरोले सडक संरचनामा व्यापक क्षति पुर्याएको छ ।

कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्ग प्रत्येक खोल्साखोल्सीमा आएको लेदोसहितको बाढीले क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद भुसालले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङका अनुसार, कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर संरचना पूरै ध्वस्त भएको छ । चैलै सडकमा पनि करिब ३५ मिटरभन्दा बढी सडक पहिरोले ध्वस्त भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुनुका साथै वर्षाले सञ्चार सेवामा समेत गम्भीर असर पुगेको छ । सडक सञ्चालनमा ल्याउन प्रजिअ भुसालसहितको टोलीले स्थलगत अवलोकन गरी तीनवटा उपकरण परिचालित गरेको छ ।

यद्यपि, सडक संरचना धेरै ठाउँमा ध्वस्त भएकाले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको स्थानीय वडाध्यक्षले बताएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ ।


Facebook Comments