७ वर्षपछि साईपाल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको आगमन
जिल्लाकै कर्मचारी आउँदा जनप्रतिनिधि खुसी
डीबी विष्ट
|
७ घण्टा अगाडि
बझाङ । बझाङ जिल्लाको सबैभन्दा ठूलो भूभाग ओगटेको दुर्गम साईपाल गाउँपालिकामा लामो समयको अन्तरालपछि पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतको आगमन भएको छ ।
लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको पालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत पुग्दा कर्मचारी, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले खुसी व्यक्त गरेका छन् ।
सन्देश प्रसाद जोशी प्रमुख प्रशासकीय अधिकृत भएर साईपाल गाउँपालिकामा पुगेका हुन् । जयपृथ्वी नगरपालिका–११ घर भएका जोशी शुक्रबार गाउँपालिका पुग्दा जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए ।
यसअघि वि.सं. २०७५ सालमा अशोक नेपाली पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत भएर गाउँपालिका पुगेका थिए । सदरमुकाम चैनपुरबाट झन्डै ४ देखि ५ दिनको पैदल यात्रा गरेर पुग्नुपर्ने विकटताका कारण उनी ६ महिना मात्रै गाउँपालिकामा बसेका थिए ।
त्यसयता जनप्रतिनिधिहरूले सामान्य प्रशासन मन्त्रालयमा पटक–पटक लिखित तथा मौखिक रूपमा प्रशासकीय अधिकृतको माग गरे पनि सुनुवाइ नभएको पूर्व गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामी र वर्तमान अध्यक्ष मानबहादुर बोहराको भनाइ छ ।
सीईओ नहुँदा कानुनी लगायत विभिन्न झमेला झेल्नुपरेको बताउँदै साईपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले अब पालिकाको कामकारबाही तथा नीति निर्माणमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।
‘धेरैजसो प्रमुख प्रशासकीय अधिकृतहरूले विकट र दुर्गम भएको भन्दै आउन आनाकानी गर्दै आएका थिए । तर, यस पटक बझाङ जिल्लामै घर भएका जोशीज्यू आउनुभएको छ’, उनले भने, ‘उहाँ लामो समयसम्म गाउँपालिकामा नै बसेर सेवा प्रवाह गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ ।’
प्रमुख प्रशासकीय अधिकृत जोशीले आफू शुक्रबार मात्रै हाजिर भएको बताउँदै सक्दो प्रयास गाउँपालिकाबाटै सेवा प्रवाह गर्ने बताएका छन् । जोशीले तत्कालै अन्यत्र जाने मनसाय नभएको पनि स्पष्ट पारे ।
‘हामी राष्ट्रसेवक कर्मचारी भएकाले सरकारले जहाँ खटाए पनि जानुपर्छ । खटाएको ठाउँमा जस्तो सुकै समस्या भए पनि ती समस्याहरूको समाधान गर्ने हामी नै हौं । समस्या देखेर भाग्नुभन्दा समाधान गर्न लाग्नुपर्छ,’ जोशीले भने, ‘केही भौगोलिक, मौसमी तथा प्राविधिक कारणबाहेक म गाउँपालिकाबाट नै सेवा विस्तार गर्ने लक्ष्य राख्छु ।’
लामो समयदेखि नेटवर्क तथा इन्टरनेटको पहुँच नहुँदा साईपाल गाउँपालिकाको सेवा सदरमुकाम चैनपुरबाट सञ्चालन हुँदै आएको थियो । जोशीले नेटवर्क समस्या समाधानका लागि काम भइरहेको र इन्टरनेटले काम गरेसम्म गाउँपालिका तथा वडा कार्यालयबाटै सेवा प्रवाह गरिने बताए ।
यसैगरी, केही समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएको दुर्गाथली गाउँपालिकामा पनि लालबहादुर विष्ट प्रमुख प्रशासकीय अधिकृत भएर पुगेका छन् ।
यद्यपि, जिल्लाका १२ वटा स्थानीय तहमध्ये साईपाल, जयपृथ्वी नपा, तलकोट, थलारा, दुर्गाथली र खप्तडछान्ना गरी ६ वटा पालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत छन् । बाँकी ६ वटा पालिका अझै निमित्त सीईओकै भरमा सञ्चालनमा रहेका छन् ।
Facebook Comments