वडाध्यक्षबाट मालिस गराउने गाउँपालिका अध्यक्षको राजीनामा स्वीकृत

निर्वाचन आयोगमा जानकारी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/krishnabaran-gaupalika-dinanath-chaudhary.jpg

काठमाडौं । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले दिएको राजीनामा स्वीकृत भएको छ । हिजो (मंगलबार) बसेको कार्यपालिका बैठकले अध्यक्ष चौधरीको राजीनामा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन् ।  

राजीनामा स्वीकृत गरेको पत्र हिजै निर्वाचन आयोगलाई पठाइसकेको छ । यसको बोधार्थ कानुन मन्त्रालयसहित मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासनमा पठाइएको छ ।

वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि अध्यक्ष चौधरी विवादमा परेका थिए । त्यसपछि उनले गत ५ असोजमा उपाध्यक्ष चौधरीलाई राजीनामा पत्र बुझाएका थिए । राजीनामा पत्रमा उनले पदमा रहेर निरन्तर काम गर्न नसक्ने अवस्था आएको उल्लेख गरेका छन् ।

‘म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु । पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस भएकाले स्वेच्छाले नै राजीनामा दिएको छु’ उनले पत्रमा लेखेका छन् ।

उनले गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभव जीवनको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै भविष्यमा पनि समाज र गाउँको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका थिए भने उपाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।  

 


Facebook Comments