शिक्षणसँगै खेतीकिसानी : केराखेतीबाट वार्षिक १० लाख आम्दानी

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/teacher-kirsi.jpg

महेन्द्रनगर । पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका शिक्षक हुन् । विसं २०५४ देखि शिक्षण पेसामा लाग्नुभएका घिमिरे हाल व्यावसायिक किसानका रूपमा नगरक्षेत्रमा परिचित छन् । 

विसं २०७५ मा दुई बिघाबाट सुरु भएको घिमिरेको केराखेती हाल साढे आठ बिघामा विस्तार भएको छ । यो जमिन उनले भाडामा लिएका हुन् । जमिनको भाडा वार्षिक रु पाँच लाख छ ।

“केराखेतीबाट वार्षिक रु १० लाख नाफा हुन्छ”, खेतीबाट भएको आम्दानी खेती विस्तारमा नै लगाएको जानकारी दिँदै किसान घिमिरेले भने । मौसम अनुकूल नहँुदा बाह्रै महिना केरा उत्पादन गर्न यहाँ सम्भव नभएको उनले बताए । केराखेतीबाट वार्षिक रु ३० लाखसम्मको कारोबार हुने गरेको छ । केराखेतीमा आफूले १० जनालाई रोजगारी दिएको उनी बताउँछन् ।

किसान घिमिरेका अनुसार बिरुवा, केरा गोडमेल गर्न चाहिने कृषि औजार सिँचाइलगायत विषयमा कृषि ज्ञान केन्द्रबाट हरेक वर्ष सहयोग प्राप्त छ । उनी अंशुवर्मा बिजवृद्धि कृषक समूहको अध्यक्षसमेत हुन् । उनले बीउबिजन उत्पादन पनि गर्दै आएका छन् । शिक्षणपछिको उनको समय खेतबारीमा बित्छ । 

पुनर्बास नगरपालिका–६ ङगाउँका विमल भण्डारी कृषि तालिमका सिलसिलामा २०७२ सालमा इजरायल पुगेका थिए । साना किसान संस्थामार्फत ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेर एक वर्ष तालिम लिनुभएका भण्डारीले स्वदेश फर्किएपछि एक बिघाबाट केराखेती सुरु गरे ।

किसान भण्डारीले भने, “केराखेती गरेको सात वर्ष भयो, हाल छ बिघामा खेती विस्तार भएको छ, वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुन्छ ।” उनले १२ बिघा खेत भाडामा लिएर छ बिघामा केरा र बाँकीमा मकै, तोरी, गहुँ र धानखेती गरिरहेका छन् । उनले दुई जनालाई रोजगारी पनि दिएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार  यहाँ प्रतिहेक्टर २० मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । ‘एक पालिका, एक उत्पादन’ कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिका  केराखेतीका लागि छनोट भएको छ ।  त्यसका लागि पालिकाले रु ४० लाख विनियोजन गरेको छ ।


Facebook Comments