काठमाडौंका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ
विमानस्थलसहितका क्षेत्रमा सेवा विस्तार
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलमा काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ ।
मन्त्रीमा नियुक्त भएपछि दुई महिनाभित्र उपत्यकाका महत्त्वपूर्ण स्थानमा वाइफाइ पुर्याउने आफ्नो पहिलो निर्णय कार्यान्वयन गर्दै यो सेवा विस्तार गरिएको हो ।
नयाँ बसपार्क, भक्तपुर र कीर्तिपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वाइफाइ सेवा जडान गरिएको छ ।
ललितपुरको एकान्तकुना, ठूलोभर्याङ र राधेराधेका यातायात व्यवस्था कार्यालयहरूमा पनि जडान तथा क्षमता अभिवृद्धि भइरहेको छ ।
यसअघि नै वाइफाइ उपलब्ध भएका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पशुपति मन्दिर परिसर, पाटन अस्पतालसहितका ११ अस्पताल तथा सार्वजनिक स्थानमा ब्यान्डविथलाई १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस पुर्याइएको छ ।
सेवाको दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले सम्बन्धित संस्थासँग सम्झौता गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले यस विस्तारमा समन्वय गरेको छ ।
मन्त्री खरेलसहितको टोलीले आज (मङ्गलबार) नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाइफाइ सेवा सञ्चालनको अनुगमन गर्ने कार्यक्रम छ ।
मन्त्रालयले उपत्यका बाहिरका दसवटा महत्त्वपूर्ण शहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढाएको जनाएको छ ।
Facebook Comments