प्रधानमन्त्री कार्कीको नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा
कार्कीको नियुक्ति वैधताबारे आज सुनुवाइ
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरिएको विषय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज (बुधबार) सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीको इजलासमा यो रिट सुनुवाइका लागि पेस भएको हो ।
अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले दायर गरेको रिटमा भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरिएको कार्कीको नियुक्ति बदर गर्न माग गरिएको छ ।
रिटमा पूर्व प्रधानन्यायाधीशलाई वर्तमान संविधानले प्रधानमन्त्री बन्न नमिल्ने उल्लेख छ । नियुक्तिबाट संविधानको धारा ७६ र १३२ (२) को ठाडो उल्लङ्घन भएको दाबी गरिएको छ ।
रिट निवेदकले नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउने अधिकार नदिएको र धारा ३०५ मा व्यवस्था भएको सो अधिकार प्रयोग गर्ने समयसीमा पहिले नै सकिइसकेको जिकिर गरेका छन् ।
रिटमा राष्ट्रपति, राजनीतिक दलहरू, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र नेपाली सेनालाई समेत विपक्षी बनाइएको छ ।
Facebook Comments