जेनजी आन्दोलनमा १ अर्ब क्षति बेहोरेको कीर्तिपुरको फेरिएन प्राथमिकता, योजना कटौती गरेर पुनर्निर्माण नगर्ने
आँखै अगाडि जलेको पालिका हेरिरहेका थिए कीर्तिपुरका जनप्रतिनिधि–कर्मचारी
अम्बिका खड्का
|
२ घण्टा अगाडि
गत साता बुधबार दिउँसो २ बजे मेयरसाप डटकमको टिम कीर्तिपुर नगरपालिका सञ्चालन भइरहेको त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्यको भवन पुग्दा सेवाग्राही भन्दा कर्मचारीहरुको चहलपहल निकै थियो । जलेको भवनबाट बचेका सामाग्रीहरु ओसारिँदै थिए । प्राङ्गणमा एकातिर ध्वाँसो लागेका कुर्सीको थुप्रो थियो भने अर्को तिर धोएका कुर्सीहरु सुकाउन राखिएको थियो । सरसफाइकर्मीहरु कोही पानी बोक्दै थिए, कोही साबुन पानीले ध्वाँसो लागेका कुर्सी धोइरहेका थिए । तीन तलाको भवन, भित्र भने खाली–खाली थियो । आफ्नै आवाज थर्किएर आइरहेको थियो । मेयरको कार्यकक्षमा एउटा कुर्सी र टेबल बाहेक खास्सै सामान थिएनन् । मेयरको सचिवालय मेयरकै कोठा अगाडि एउटा कुर्सी र टेबल राखेर सञ्चालन गरिएको थियो । नगरपालिकाका कतिपय शाखाहरु भित्तामा बाक्लो लेउ लागेका कोठाबाट सञ्चालन भइरहेका थिए ।
जेनजी आन्दोलनका क्रममा कीर्तिपुर नगरपालिकाको आफ्नो भवन जलेर बस्न योग्न नभएपछि त्रिभुवन विश्वविद्यालयको १२ वर्षअघि बनेको तर प्रयोग नभएको जनस्वास्थ्यको भवनबाट कीर्तिपुर नगरपालिकाको काम सञ्चालन भइरहेको छ । माथिको वृतान्त सोही भवनमा देखिएको दृश्य हो । र यो दृश्यले आन्दोलनका क्रममा नमिठो गरी थलिएका पालिकाहरुलाई भग्नावशेषबाट उठेर आफ्नो दैनिक काम सुरु गर्न गर्नु परेको संघर्षलाई देखाउँछ ।
भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा कीर्तिपुर नगरपालिकामा तोडफोड, आगजनी र लुटपाट हुँदा १ अर्ब भन्दा बढीको क्षति भएको छ । बस्नका लागि भवन, टेबलकुर्सीदेखि काम गर्न कम्प्युटर, ल्यापटप समेत थिएनन् । सबै कुराको जोहो गर्दागर्दै २ महिना बितिसक्यो । कागजपत्र र अभिलेखहरु जलेका छन् । ‘रिकभर’ को काम भइरहेको छ । २ महिनामा पालिका २ ठाउँ सर्नुपर्यो । तर पनि नगरपालिकाले नागरिकको दैनिक सेवा भने प्रभावित हुन दिएको छैन । नागरिकहरुलाई असुविधा नहुने गरी सेवा प्रवाह गर्न कर्मचारी र जनप्रतिनिधिहरुले भने थुप्रै असुविधाहरु झेलिरहेका छन् ।
मेयर कृष्णमान डंगोलको सम्झनामा भदौ २४
भदौ २४ गते बिहान ८ नबज्दै मेयर कृष्णमान डंगोल सधैँझैं नगरपालिकातर्फ जाँदै थिए । पालिका नपुग्दै ठाउँ ठाउँमा देखिएका जुलुस र नाराबाजीका कारण त्यो दिन पालिका नखोल्दै उपयुक्त हुने निर्णय भयो । त्यसपछि सोही दिन नगरपालिकामा राखिएको पर्यटन समितिको बैठक उनले पालिका भन्दा सय मिटर माथि एउटा रेष्टुरेन्टमा राखे । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु २३ गतेको घटनाको समिक्षासहित पर्यटन दिवस मनाउने सन्दर्भमा छलफल गरिरहेका थिए । उनीहरुले पालिका अगाडि भइरहेका गतिविधि मोबाइलमा जडान भएको सिसिटिभिमा हेर्दै पनि थिए । बेला बेला केही मानिसको समूह आउने ढुंगा हान्ने, नारा लगाउने र जाने गरिरहेका थिए । २३ गतेको घटनापछि नागरिकमा यतिको आक्रोश जाग्नु मेयर डंगोललाई स्वभाविक लागिरहेको थियो । तर अचानक साढे १० बजे आएको एउटा टोलीले नगरपालिकामा तोडफोड गर्न थाल्यो । मेयर डंगोलले रेष्टुरेन्टको कौसीबाट पालिकातर्फ हेरे । भीड बिस्तारै बढिरहेको थियो । एकैछिनमा २ देखि ३ सय मानिस जम्मा भए । मेयर डंगोलका अनुसार उनीहरु तोडफोड गरेर मात्र रोकिएनन् । केही क्षणमै मेयरको कार्यकक्षबाट आगोको ‘लप्को’ ह्वारह्वारी बाहिर आउन थाल्यो । नगरपालिकाको भवनमा आगो दनदनी बल्न थाल्यो । बाहिर रहेको एउटा पानी ट्यांकीमा पनि आगो झोसियो । अन्डरग्राउण्डमा भएको पार्किङका गाडीहरु जल्दा पड्कीएको आवाज माथिसम्मै सुनिएको थियो ।
‘यसअघिका कयौं विद्रोह, आन्दोलन देखेर आएको हुँ । सरकारसँग आक्रोशित भएपनि स्थानीय तहमाथि आक्रमण कहिल्यै भएको थिएन । मानिसहरु जम्मा हुने, नारा लगाउने गरिरहेका थिए । २३ गतेको घटनापछि यतिको आक्रोश सामान्य नै लागेको थियो’, मेयर डंगोल भन्छन्, ‘तर अचानक कल्पनै नगरेको घटना भयो । आफ्नै आँखा अगाडि नगरपालिका भवन जलेको हेरेर बस्नु पर्यो । कसैले त उनीहरुलाई रोक्नुपर्छ भन्ने लागेर म जान खोजेको पनि थिएँ । तर साथीहरुले जान दिनु भएन् । २३ गतेको घटनाप्रति हामी आफैं पनि दुखी थियौं । २४ गतेको घटनाले अर्को दुख थपियो ।’
तोडफोड र आगजनी मात्र भएन, सँगसँगै नगरपालिकाका सामान चोरी समेत भइरहेका थिए । यता पालिका जल्दै थियो, उता मेयरलाई राजीनामा दिन धम्की आउन थालेको थियो । मेयर डंगोल भदौ २४ गते सम्झँदै भन्छन्, ‘राजीनामा दिन धम्की भन्दा पनि मैले त सुझावकै रुपमा लिए । तर राजीनामा दिनुपर्ने कारण नै थिएन । म कसैसँग डराउनु पर्ने कारण पनि थिएन । म जनताले जिताएर पठाएको जनप्रतिनिधि हुँ । मैले गल्ती गरेको छैन । र, यस्तो परिस्थितिमा राजीनामा दिएर म आफ्नो जिम्मेवारीबाट हट्न सक्दिन भन्ने सोचेँ र अडिग भएर बसेँ ।’
पालिका भवन जलाइसकेपछि केही मानिसले मेयरको घरमा समेत आगो लगाउने प्रयास गरे । मेयरको घर खोज्दै गएका केही समूहलाई मेयर डंगोलका छिमेकीहरुले ‘मेयरको घर यता होइन्’ भनेर फर्काइदिए ।
जेनजी आन्दोलन–‘छोरी कुटेर बुहारी तर्साए’
जेनजी आन्दोलनका क्रममा देशभरका धेरै पालिका भवन, वडा कार्यालय भवन र जनप्रतिनिधिका घर समेत जलेका, तोडफोड भएका छन् । जसमध्ये कीर्तिपुर नगरपालिका एक हो । तर मेयर डंगोल भने नागरिकहरु स्थानीय तहसँग असन्तुष्ट नरहेको दाबी गर्छन् । उनले आन्दोलनकारीहरुले ‘छोरी कुटेर बुहारी तर्साउन खोजेको’ भन्दै केन्द्र सरकारको आक्रोश आफूहरुमाथि पोखिएको बताए ।
उनी भन्छन्, ‘हामी माथि असन्तुष्ट हो भने त कीर्तिपुर नगरपालिका मुर्दाबाद, मेयर कृष्णमान डंगोल मुर्दाबाद भनेको किन कतै सुनिएन्?’
उनले आफू निर्वाचित भएको एक वर्षमात्र भएकाले पनि नागरिकहरु आफूसँग असन्तुष्ट हुनुपर्ने कारण नभएको बताउँछन् । साथै उनले नगरपालिका तोडफोड र आगजनी गर्न आउने मानिसहरु कीर्तिपुरका स्थायीबासी समेत नरहेको बताए ।
मेयर डंगोलले भने, ‘कीर्तिपुरका स्थायीबासी मसँग आक्रोशित भएका भए मेरो घर बचाउँदैन थिए । पालिका भवन जलाउन, तोडफोड गर्न आउनेहरुमा कोही पनि यहाँका स्थायीबासी थिएनन् । मैले चिनेका अनुहार थिएनन् । त्यसैले मलाई भोट दिने मेरा नागरिक मसँग रिसाएर यत्रो विध्वंश गरे भन्ने म विश्वास गर्दिन् ।’
‘उभिएर भए पनि नागरिकलाई सेवा दिनुपर्छ’
भदौ २४ गतेको घटनापछि २६ गते नै मेयर डंगोलले नगरपालिकाका कर्मचारीहरुसँग बैठक राखे । देशमा सेना परिचालन गरिएको थियो । देशभर कर्फ्यु थियो । सबै अन्योलमा थिए । तर मेयर डंगोलले २७ गतेदेखि नै नागरिकका अत्यावश्यक सेवा सुचारु गर्ने गरी काम सुरु गर्न कर्मचारीलाई निर्देशन दिए ।
निर्देशन त दिए तर काम कहाँबाट कसरी गर्ने भन्ने टुंगो थिएन । कीर्तिपुर गेट नजिकै रहेको पर्यटन सूचना केन्द्रबाट काम सुरु गर्ने व्यवस्था मिलाए । मेयर भन्छन्, ‘उभिएर भएपनि नागरिकको काम गर्नुपर्छ भनेर काम थाल्यौं ।’
एउटा टेबल र कुर्सी राखेर २७ गते बिहान १० बजेदेखि नै नागरिकका अत्यावश्यक काम सुरु गरेको सम्झँदै मेयर भन्छन्, ‘नगरपालिकाको भवनमा आगोबाट बचेका टेबल कुर्सी लगायतका सामान ल्यायौं । एउटा कुर्सी र टेबल राखेर नै काम सुरु गर्यौं । सुरुमा त कुर्सीमा बस्दा लुगाभरी मोसो लाग्थ्यो । हातमा धुलो आउँथ्यो । त्यही हात अनुहार तिर पुग्दा कति कर्मचारीहरु काम गर्दागर्दै अनुहारमा समेत मोसो लागेको अवस्थामा हुन्थे । तर पनि हामीले नागरिकका काम प्रभावित पारेनौं । सेनाले कर्फ्यु खोल्नुभन्दा अघि नै हामी नागरिकका लागि खटिएका थियौं ।’
त्रिविको जनस्वास्थ्य भवनबाट पुनः पालिकाको काम सुरुवात
अवस्था सामान्य हुँदै गएपछि पर्यटन सूचना केन्द्रको काम पनि सुरु भयो । यता पालिकाको कामका लागि उक्त भवन पर्याप्त पनि थिएन । अब के गर्ने भनेर सोच्दै गर्दा मेयरले सम्झिए ‘तिनकुने नजिकैको त्रिविको एउटा खाली भवन’ । उनले त्रिविका पदाधिकारीसँग कुरा गरे । कुरा सकारात्मक आएपनि कागजी प्रक्रिया मिलाउन समय लाग्ने थियो । मेयरले ‘कागजी प्रक्रिया पूरा गर्दै गरौंला, अहिले हामी काम सुरु गर्छौं’ भनेर त्रिविको जनस्वास्थ्यको भवनबाट पालिकाको काम सुरु गरे । दशैंपछि कीर्तिपुर नगरपालिकाको काम सोही भवनबाट सुरु भयो । नयाँ र खाली भवन भन्ने बित्तिकै पनि काम गर्न त्यति सजिलो थिएन् । १२ वर्ष अघि बनेको भवन लापर्बाही ढंगले छोडिएको अवस्थामा थियो । सिसा फुटेका थिए । भुईँभरी पानी जमेको र लेदो, हिलो थियो । पानी नजमेको ठाउँमा कोदो रोप्न ठिक पारिएको बारीमा जस्तै धुलो थियो । भित्ताभरी पानी चुहिएर लेउ लागेको थियो ।
‘हामी हेर्न आउँदा भुत बंगला जस्तो थियो । १५ दिन भयो सफा गर्न थालेको अझै पनि सफा भइसकेको छैन । जलेर बचेका सामान पनि ल्याउँदै छौं । काम लाग्ने सामान ती नै प्रयोग गर्न थालेका छौं । अहिले हामीले हाम्रो सुविधाका विषयमा थोरै पनि सोचेका छैनौं । अतिआवश्यक बाहेक हामीसँग केही नै छैन । तिहारपछि बल्ला हामी शतप्रतिशत काम गर्न सक्ने अवस्थामा भने पुगेका छौं ।’
मेयर डंगोलले भविष्यमा सोही भवनलाई स्थानीय रुपमा नगरपालिकाको भवन बनाउने गरी पहल गरिरहेको समेत जानकारी दिए ।
तत्काल आवश्यक सामाग्री सहयोगमार्फत प्राप्त
नगरपालिकाकाले यति चाँडै ‘रिकभर’ भएर नियमित काम सुरु गर्नुमा धेरै सहयोगीहरुको समेत हात भएको मेयर डंगोल बताउँछन् । सुरुमा बस्नका लागि पर्यटन सूचना केन्द्रले सहयोग गर्यो । अहिले त्रिविले बस्ने ठाउँ दिएको छ । तत्काल काम सुरु गर्नका लागि कृषि विकास बैंकले ५ वटा कम्प्युटर दियो । शिक्षा शाखाको सम्पूर्ण सेटअप गर्ने काममा कीर्तिपुर नगर प्याप्सनले सहयोग गर्यो । शिक्षा शाखाको कम्प्युटर, ल्यापटप, सोफा, कुर्सी, टेबल, दराज लगायतका सम्पूर्ण आवश्यक कुरा नगर प्याप्सन कीर्तिपुरले उपलब्ध गराएको मेयर डंगोलले जानकारी दिए ।
केही स्कुलहरुले पनि कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री उपलब्ध गराएर सहयोग गरेका छन् । अन्य आवश्यक सामाग्रीहरुका लागि सहयोग गर्न अन्य बैंकहरुसँग समेत छलफल भइरहेको मेयर डंगोलले बताए ।
पालिकाको प्राथमिकता परिवर्तन भएको छैन, विकासका योजना कटौती गरेर पुनर्निर्माणतिर लगाउँदैनौं
मेयर डंगोलले जेनजी आन्दोलनपछि १ अर्ब भन्दा बढीको क्षति हुँदा समेत नगरपालिकाको प्राथमिकतामा परिवर्तन नभएको बताए । बजेटमा उल्लेख गरिएका विकास निर्माण र नागरिकका लागि छुट्याइएका योजना कटौती गरेर क्षतिको परिपूर्ति गर्न तिर आफू नलाग्ने दाबी गरे । प्रदेश र केन्द्रबाट नै योजना कटौती भएर बजेट पनि कटौती भएमा समस्या हुने तर पालिकाले प्राथमिकतामा राखेको कामलाई अझै पनि प्राथमिकतामै राखेर काम गर्ने मेयर डंगोलको प्रतिबद्धता छ ।
उनले भने, ‘म आएदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, यहाँको सम्पदा र संस्कृतिको संरक्षण र विकास निर्माणमा जोड दिँदै आएको छु । बजेट पनि सोही अनुसार विनियोजन भएको छ । म पुनर्निर्माणतिर लागेर नागरिकका यी योजनाहरुमा कटौती गर्ने पक्षमा छैन । बजेट कटौती नहुने गरी पुनर्निर्माण पनि गर्न सक्छौं भन्ने मलाई विश्वास छ।’
मेयर डंगोलले भवन पुनर्निर्माणमा सहयोगका लागि मेयर फोरममा निवेदन दिएका छन् । मेयर फोरमबाट २ करोडसम्म सहयोग हुने उनको विश्वास छ । त्यसैगरी नगर विकास कोषबाट पनि पुनर्निर्माणका लागि ५० प्रतिशतसम्म अनुदान आउने गरी कुराकानी भएको उनले बताए । यसरी विभिन्न क्षेत्रको सहयोगबाट नै पुनर्निर्माण गर्ने, क्षतिलाई परिपुर्ति गर्ने उनको लक्ष्य छ ।
कर्मचारी कटौती होइन, सेवा सुदृढीकरण
जेनजी आन्दोलनपछि बनेको सरकारको अर्थमन्त्रालयले स्थानीय तहहरुलाई करारका कर्मचारी हटाउन परिपत्र गरेसँगै धेरै पालिकामा करार कर्मचारी हटाउने, सम्झौता नविकरण नगर्ने गर्न थालिएको छ । अझ आन्दोलनका कारण ठूलो क्षति भएपछि कर्मचारी राख्न सक्ने अवस्थामा समेत छैनन् कति पालिकाहरु । तर कीर्तिपुर नगरपालिका भने करारका कर्मचारी हटाउने पक्षमा छैन ।
नगरपालिकामा कर्मचारी कम भएका कारण पनि हटाउनुपर्ने आवश्यकता नभएको मेयर डंगोल भन्छन् । उनले भने, ‘म आएदेखि नगरपालिकामा राजनीतिक नियुक्ती भएको छैन । करार दरबन्दीमा राखिएका कर्मचारी हामी हटाउँदैनौं । हामी रोजगारी सिर्जना गर्नुपर्छ भनिरहँदा म आफ्नै कार्यालयका कर्मचारीलाई बेरोजगार बनाउन सक्दिन् । यसै पनि हामीसँग कर्मचारी एकदमै कम छन् ।’
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलसँग मेयरसाप डटकमका लागि अम्बिका खड्काले गरेको कुराकानीमा आधारित
Facebook Comments