मानव बेचबिखनमा परेका १४ नेपालीको म्यानमारबाट उद्धार
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । थाइल्यान्डस्थित नेपाली राजदूतावासको पहलमा म्यानमारमा विभिन्न प्रलोभनमा परी अवैध अनलाइन स्क्यामिङ केन्द्रहरूमा काम गर्न बाध्य पारिएका १४ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।
दूतावासले म्यानमार र थाइल्यान्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरूलाई म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी थाइल्यान्डको मेसोट अध्यागमन हुँदै आज (कात्तिक १९ गते) नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्काएको हो ।
दूतावासका अनुसार, म्यानमारको म्यावडी क्षेत्रबाट थप ११ जना नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी समन्वय भइरहेको छ । साथै, १९ अक्टोबर २०२५ पछि सोही क्षेत्रबाट थाइल्यान्ड प्रवेश गरेका ३८ जना नेपालीहरूको हकमा पनि थाइल्यान्डका निकायहरूसँग समन्वय भइरहेको छ ।
नेपाली राजदूतावासले वैदेशिक रोजगारीमा जानेहरूलाई नेपाल सरकारले तोकेको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र जान र कसैको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नआउन पुनः अनुरोध गरेको छ ।
Facebook Comments