विश्वकप लिग–२ सिरिज : लगातार चार खेल हारेसँगै नेपाल जितबिहीन
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा नेपाल जितबिहीन बनेको छ । बुधबार यूएईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिम यूएईसँग चार विकेटले हारेसँगै नेपालको यात्रा जितविहीन हुँदै टुंगिएको हो ।
नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । यूएईको जितमा महमद सहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । यस्तै, मोहम्मद वसिमले ७३ बलमा चार चौका र तीन छक्कासहित ७६ रन थपे । यी दुईले ६८–३ को स्थितिबाट १४७ रनको साझेदारी गर्दै यूएईलाई जितनजिक पुर्याएका थिए ।
सोहेब खानले २९, कप्तान आलिसान सराफुले १८ र हर्षिक कौसिकले १३ रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए । नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३९ रनको योगफल खडा गरेको थियो ।
यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । ६८ बल खेलेका उनले सात चौका प्रहार गरे । मध्यक्रमका ब्याटर कुशल मल्लले ५१ बलमा एक चौका र तीन छक्कासहित ४६ रन बनाए । ओपनर आसिफ सेखले ४८ बलमा चार चौकासहित ३४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७ रन थप्दा आरिफ सेखको नाममा ३० रन रह्यो । १०औँ नम्बरमा ब्याटिङका निम्ति आएका सन्दीप लामिछानेले अविजित १५ रन जोडे ।
कुशल मल्ल र सन्दीप लामिछानेले नवौँ विकेटका निम्ति ४२ रनको साझेदारी गरेका थिए । यो शृंखलाको यसअघिका तीन खेलमा नेपालले नेपालले अमेरिकासँग १०६, दोस्रो खेलमा यूएईविरुद्ध पाँच र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटको हार व्यहोरेको थियो ।
Facebook Comments