बाँकेका ७ वटा स्थानीय तहमा देखिएको ‘लम्पी स्किन’ सं*क्रमण नियन्त्रणमा

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/lampi-skin-rog.jpg

काठमाडौं । बाँकेका सात वटा स्थानीय तहका पशु चौपायामा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’को सङ्क्रमण नियन्त्रणमा आएको देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले आज आयोजना गरेको स्थानीय तहका पशुसेवा प्राविधिकसँगको अन्तरक्रियामा विज्ञ केन्द्रका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनले सो जानकारी दिए । 

उनले केही स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमणका कारण दुई वटा पशु मरेको उल्लेख गर्दै खोपको व्यवस्थापन र मौसमममा आएको फेरबदलले पनि सङ्क्रमण कम हुँदै गएको बताए । दशैंअघि नै सात स्थानीय तहका १५० भन्दा बढी पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको थियो । 

जिल्लाको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही क्षेत्रमा लम्पी स्किनको सङ्क्रमण देखिएको थियो । 

जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले पालिकामा १६२ वटा पशु चौपायमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिनासाथ खोप  उपलब्ध गराइएको र पशुको आहारामासमेत ध्यान दिइएकाले अहिले छिटफुट घटना बाहेक लम्पी स्किन नियन्त्रणमा आएको बताए।

“केही किसानलाई औषधि किन्न लगायौँ, कही हामी आफैँले पनि सहयोग गरेर लम्पी स्किन नियन्त्रणमा आएको छ,” उनले भने । लम्पी स्किनका १६२ पशु चौपायाको उपचार भएको जानकारी दिँदै खडकाले करिब ७ वटा पशुको उपचार जारी रहेको र सङ्क्रमण घट्दो अवस्थामा रहेको बताए ।  

राप्तीसोनारी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख जयबहादुर कार्कीले राप्तीसोनारी गाउँपालिका–६ को खल्ला टपरीबाट सुरुमा लम्पी स्किनको सङ्क्रमण सुरु भएको उल्लेख गर्दै एक साताअघि मात्रै वडा नं ८ मा पनि सङ्क्रमण देखिएको जानकारी दिए । धेरैजसो पशुमा लम्पी स्किनको सङ्क्रमण नियन्त्रणमा आएको उल्लेख गर्दै उहाँले भ्याक्सिनको अभावले सुरुमा केही समस्या भएको बताए। 

नरैनापुर गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जगतराम यादवले ८५ वटा पशु चौपायमा लम्पी स्किनको घटना देखिएको जानकारी दिँदै भयावहस्थिति नरहेको बताए । 


Facebook Comments