लाइसेन्स छाप्न सुरक्षण मुद्रण विभागको अनुमति कुर्दै प्रदेश सरकार

User Image दिक्षान्स खड्का | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/license.JPG

हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलाई छिटो र प्रभावकारी बनाउन पाँचवटा अत्याधुनिक मुद्रण मेसिन खरिद गरी स्थापना गरेको छ। तर, सुरक्षण मुद्रण विभागबाट अनुमति नपाउँदा यी मेसिनहरू सञ्चालनमा आउन सकेका छैनन्। एउटा मेसिनले प्रतिघन्टा करिब १५० वटा लाइसेन्स छाप्न सक्ने क्षमता राख्छ। 

प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार परीक्षा पास गरेका र नवीकरणका लागि राजस्व तिरेका हजारौं नागरिक अझै लाइसेन्सको प्रतीक्षामा छन्। उनले भने, “सबै कानुनी प्रक्रिया पूरा गरेर राजस्व तिरेका सेवाग्राही अझै लाइसेन्सको पर्खाइमा छन्।”

मन्त्री थापाले जेनजी आन्दोलनका क्रममा केही कार्यालयमा क्षति भए पनि छपाइका लागि आवश्यक प्राविधिक तयारी पूरा भइसकेको बताए। तर सुरक्षण मुद्रण विभागको स्वीकृति नआएकाले मेसिन सञ्चालन गर्न नसकिएको हो।

सुरक्षण मुद्रण ऐन २०८१ को दफा ९ (३) अनुसार प्रदेश सरकारले जनतामुखी सेवा प्रवाह सुधार गर्ने उद्देश्यले मुद्रण मेसिन खरिद गरी स्थापना गरेको हो। प्रदेश स्तरमै लाइसेन्स छाप्न पाउने व्यवस्था भएमा सेवाग्राहीलाई छिटो र सहज सेवा उपलब्ध हुने प्रदेश सरकारको विश्वास छ।

हाल बागमती प्रदेशमा करिब १२ लाख र देशभर १३ लाख, गरी जम्मा २५ लाखभन्दा बढी सवारी चालक अनुमति पत्र छपाइको पर्खाइमा छन्। केन्द्रबाट मात्र छपाइ हुने व्यवस्थाका कारण ढिलाइ, ढुवानी र वितरणमा समय लाग्ने समस्या कायम रहेको मन्त्रालयले जनाएको छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्र देव भारतीका अनुसार आवश्यक अनुमति प्राप्त भएलगत्तै लाइसेन्स छपाइ प्रक्रिया सुरु गर्ने तयारी पूरा गरिएको छ। मन्त्रालयले संघीय सरकारसँग अनुमति माग्दै पटक–पटक पत्राचार गरे पनि अहिलेसम्म स्पष्ट निर्देशन नआएको उनले जानकारी दिए।


Facebook Comments