झापा महिला गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/football_2.jpg

झापा । त्रिभुवन आर्मी फुबटल क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शिवसताक्षीको दूधे रङ्गशालामा जारी उक्त प्रतियोगिताको आज भएको क्वाटरफाइनल खेलमा विभागीय टोली आर्मीले आरएस पोखरा एफसीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । अब पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सङ्कटा फुबटल क्लबबीच तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुबटल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आजको खेलको सुरुआती चरणमा आर्मी क्लबकी जेनिफर रानामगरले पहिलो गोल गरेकी थिइन् । खेलको ३३औँ मिनेटमा विमला चौधरीले आर्मीका लागि दोस्रो गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा विमला विकले आर्मीका लागि तेस्रो गोल गरिन् । 

दोस्रो हाफको ८५औँ मिनेटमा विमला चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० गोलको अग्रता दिलाइन् । खेलको ९०औँ मिनेटमा शर्मिला थापाले तथा इन्ज्युरी समयमा विमला चौधरीले आर्मीका लागि क्रमशः पाँचौँ र छैटौँ गोल गरिन् । 

खेलको प्लेयर अफ दी म्याच आर्मीकै विमला चौधरी घोषित भइन् । उनले रु १५ हजार नगद र ट्रफी प्राप्त गरिन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ ।  


Facebook Comments