५० हजार शुल्कसहित रास्वपाद्वारा समानुपातिक उम्मेदवार आह्वान

प्रत्यक्षलाई २५ हजार शुल्क

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/shares/rsp-party_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको आह्वान गरेको छ । शनिबारबाट सुरु भएको यो प्रक्रियामा पार्टीले मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरेको रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । 

उनका अनुसार, समानुपातिक उम्मेदवारका लागि रु ५० हजार र प्रत्यक्षतर्फ रु २५ हजार शुल्क तोकिएको छ । यद्यपि, उक्त शुल्क बुझाउन नसक्ने पार्टी सदस्यहरूलाई वैध कारण खुलाएमा रकम छुट हुने सुविधा पनि दिइएको छ । रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन ऐनले निर्धारण गरेको पाँचवटा योग्यताका अतिरिक्त पार्टी विधानअनुसार थप कडा मापदण्डहरू तोकेको छ । 

उम्मेदवार बन्नका लागि पार्टीको केन्द्रीय अनुशासन आयोगलाई सम्पत्ति विवरण बुझाएको, प्रहरी रिपोर्ट पेस गरेको, पार्टीका मूल्यमान्यता प्रस्ट्याउने दस्तावेजप्रति प्रतिबद्ध रहेको, अन्य राजनीतिक पार्टी त्याग गरेको र थप स्वघोषणा–योग्यता हुनुपर्ने रास्वपाले उल्लेख गरेको छ ।

त्यसैगरी, सार्वजनिक पद दुरूपयोग नगरेको, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गराएको र वैवाहिक अवस्थाको वैध स्पष्टताबारे स्वघोषणा गरेको हुनुपर्ने नयाँ मापदण्ड पनि अघि सारिएको छ । यस अतिरिक्त, सार्वजनिक रूपमा प्रमाणित घृणात्मक अभिव्यक्ति, दुव्र्यवहार–धम्की, जात–लिंग–आधारित अपमान वा कमजोर समूहको शोषण जस्ता आचरण नगरेको स्वघोषणा गर्नुपर्नेछ ।

साथै, उम्मेदवार वा आफ्नै एकाघर सदस्यले उम्मेदवारी र प्रतिनिधि सभा सदस्य पदावधिभर आधारभूत आवश्यकताहरू स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी–स्रोत भएको स्वघोषणा गर्नुपर्ने मापदण्ड पनि रास्वपाले राखेको छ । रास्वपाले एउटै निर्वाचनमा समानुपातिक वा प्रत्यक्षतर्फ एउटामात्रै निर्वाचन प्रणालीमा प्रतिस्पर्धा गर्न पाउने विधि तय गरेको छ ।

सहमहामन्त्री आचार्यका अनुसार, एउटै निर्वाचन चक्रमा प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एउटा निर्वाचन प्रणालीका लागि उम्मेदवार बन्ने उद्देश्यले छनोट विधिमा सहभागी हुने व्यक्तिले अर्को प्रणालीमा भाग लिन पाउने छैनन् । यदि प्रत्यक्ष र समानुपातिक दुवैमा सहभागी भएको पाइए उम्मेदवारी स्वतः खारेज गरिनेछ ।

यसबाहेक, प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छनोट विधिमा सहभागी भएको पार्टी सदस्यले त्यही चक्रभित्र हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न पाउने छैनन् । महत्त्वपूर्ण कुरा, रास्वपाले अघिल्लोपटक समानुपातिक सूचीबाट निर्वाचित भएका १४ जना सांसदहरूलाई पनि यसपटक उम्मेदवार बन्न रोक लगाएको छ ।


Facebook Comments