२२ उद्योगबाट प्राधिकरणले उठायो करिब २४ करोड बक्यौता
डेडिकेटेड–ट्रङ्कलाइन लाइन विवाद
मेयरसाप डेस्क
|
३ घण्टा अगाडि
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्कलाइन महसुल नतिर्ने उद्योगीहरूलाई कडाइ गरेपछि २२ वटा उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गर्न सफल भएको छ ।
प्राधिकरणले यही कात्तिक ४ गते महसुल तिर्न नमान्ने उद्योगहरूको लाइन काटिदिएपछि २२ उद्योगीहरूले किस्ताबन्दीमा बक्यौता बुझाएर लाइन जोडेका छन् ।
प्राधिकरणका अनुसार, कुल ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ डेडिकेटेड तथा ट्रङ्कलाइन महसुल बक्यौता रहेकोमा यो असुलीले ठूलो राहत दिएको छ ।
असोज १२ गतेभन्दा अघि उद्योगीहरूले २ करोड ४१ लाख ६८ हजार रुपैयाँ बक्यौता तिरेका थिए भने लाइन काटिएपछि किस्ता निरन्तरता भुक्तानी बापत १८ करोड २० लाख ७ हजार रुपैयाँ भुक्तानी गरेका हुन् ।
महसुल बुझाउने क्रममा जगदम्बा स्टिलले ५ करोड ७२ लाख रुपैयाँ बुझाएको छ । यस उद्योगको कुल बक्यौता १ अर्ब ६० करोड १८ लाख रहेकोमा अब पनि १ अर्ब ५४ करोड रुपैयाँ बाँकी छ ।
यस्तै, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३६ लाख ८४ हजार कुल बक्यौतामा २ करोड ७५ लाख भुक्तानी गरेको छ, जसपछि अब ७२ करोड ६१ लाख रुपैयाँ तिर्न बाँकी छ ।
अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख बक्यौतामा १ करोड ६० लाख रुपैयाँ तिरेको र अझै ४३ करोड २४ लाख रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
भुक्तानी गर्ने अन्य उद्योगहरूमा विशाल सिमेन्ट (११ लाख ९७ हजार), घोराही सिमेन्ट (१ करोड ८१ लाख), र शिवम् सिमेन्ट (२ करोड ३८ लाख) रहेका छन् ।
Facebook Comments