भोजपुर-काठमाडौं उडान थपिएपछि बिरामीलाई राहत
उडान संख्या दुईबाट चार पुग्यो
मेयरसाप डेस्क
|
एक घण्टा अगाडि
भोजपुर । नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ ।
सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो । यसअघि उडान कम हुँदा बाह्य अपस्तालमा बिरामी लैजान समस्या हुँदै आएको थियो ।
अकास्मिक अवस्थामा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै ठूलो आर्थिक भारसमेत हुँदै आएको भोजपुर नगरपालिका–१२ का स्थानीय पर्शुराम कार्कीले बताए ।
उडान थप भएपछि स्थानीय कम लागतमा काठमाडौंका अस्पतालमा पुगेर उपचार गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ ।
निगमले काठमाडौं–भोजपुर–काठमाडौं उडान तालिका थप गरेको निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि मङ्गलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान हुँदै आएको छ ।
प्राविधिक कारणले जहाजमा समस्या हुँदा यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो । निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।
भोजपुरमा नेपाल वायु सेवा निगमको जहाजले मात्र उडान भर्दै आएको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई काठमाडौं, विराटनगर, धरानलगायत स्थानका अस्पताल जानुपर्ने बाध्यता छ ।
Facebook Comments