पार्टी दर्ताको सूचीबारे भ्रममा नपर्न संयोजक दाहालको आग्रह
मेयरसाप डेस्क
|
२ घण्टा अगाडि
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गर्दै दल दर्ताको विवरणबारे देखिएको भ्रममा स्पष्ट हुन अनुरोध गरेको छ ।
सचिवालयका अनुसार, निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो ।
कानुनको एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधान पूरा गर्न तत्काल उपस्थित भएका १३ जना महिला केन्द्रीय सदस्यहरूको नाम मात्र सूचीमा थपिएको हो । यो कुनै अलग संरचना नभएको र विधानबमोजिम संरचना बनाउन बाँकी रहेको सचिवालयले स्पष्ट पारेको छ ।
सचिवालयका अनुसार, पार्टी संयोजक र सह–संयोजकबाहेक सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् ।
एकीकृत पार्टीको केन्द्रीय समितिसहित सबै संरचना यही प्रक्रियाअनुसार टुङ्गो लाग्ने गृहकार्य भइरहेको सचिवालयले जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रियामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी वाम समूहहरू जुटेका छन् ।
Facebook Comments