नक्कली सीआईबी बनेर पैसा असुल्ने २ जना पक्राउ
मेयरसाप डेस्क
|
४ घण्टा अगाडि
काठमाडौं । आफूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रहरी बताउँदै अवैध रूपमा पैसा असुलेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाका ४१ वर्षीय रबीन कोइराला र धनकुटाका ३३ वर्षीय योगेन्द्र पौडेल छन् । उनीहरूले १६ कात्तिकको राति ९ बजेतिर काठमाडौंको कोटेश्वरस्थित एक होटेलमा खाजा खाइरहेका दुई व्यक्तिलाई डरधम्की दिई पैसा असुलेको आरोप लागेको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेका कोइराला र पौडेलले पीडितहरूलाई धम्क्याएर ई–सेवामार्फत जनही ५०–५० हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएका थिए । यति मात्र नभई उनीहरूसँग भएको नगद ६ हजार रुपैयाँ पनि लुटेका थिए ।
प्रहरीले उनीहरूविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेकाहरूको साथबाट ११ थान पासपोर्ट, १३ थान आईडी कार्ड, ४ थान विभिन्न कार्यालयका छाप, ३ थान एटीएम कार्ड, र नगद रसिदको ठेली ११ थान लगायतका सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments