जेन–जी सरकारका ३ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण

कुलमानसहित ३ जनाको बाँकी

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते २१:१९
Image of https://mayorsap.com/storage/photos/shares/gen-z-minister.png

काठमाडौं । जेन–जी आन्दोलनको समर्थनमा बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ३ जना सदस्यहरूले अझैसम्म आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, ७ जना मन्त्रीले भने विवरण बुझाइसकेका छन् ।

प्रधानमन्त्री कार्कीले भदौ ३० गते नियुक्त गरेका तीन मन्त्रीमध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाउन बाँकी छ ।

यद्यपि, सोही चरणमा नियुक्त भएका अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालले भने विवरण बुझाइसकेका छन् ।

दोस्रो चरणमा असोज ६ गते नियुक्त भएका चार मन्त्रीहरूमध्ये सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

तेस्रो चरणमा कात्तिक ९ गते नियुक्त भएका दुई मन्त्रीहरूमध्ये स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतमको पनि सम्पत्ति विवरण बुझाउन बाँकी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण प्राप्त भएपछि सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्ने जनाएको छ ।


Facebook Comments