पूर्व प्रदेश प्रमुख अहिराजको मुद्दामा मिसिल झिकाउने आदेश

जबरजस्ती करणी मुद्दामा सर्वोच्चको आदेश

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते १४:०९
Image of https://mayorsap.com/storage/photos/shares/rajesh-ahiraj.png

काठमाडौं । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (झा) को मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।

थुनामुक्त हुन माग गर्दै अहिराजले कात्तिक २३ गते दिएको निवेदनमाथि शुक्रवार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले मुद्दाको सम्पूर्ण मिसिल झिकाउने आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंले साउन १४ गते अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यस लगत्तै उनी डिल्लीबजार कारागार चलान भएका थिए ।

जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले २०८२ भदौ १२ गते जिल्ला अदालतको थुनामा पठाउने आदेश सदर गरिदिएको थियो ।

जिल्ला र उच्च अदालतको उक्त आदेशविरुद्ध अहिराज अहिले सर्वोच्च अदालत पुगेका थिए । उनीविरुद्ध एक महिलाले बलात्कारको आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।


Facebook Comments