गाउँपालिका महासंघकी अध्यक्ष पाण्डेको घर आगजनी गर्ने थप ४ जना पक्राउ

पक्राउ पर्नेमा नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति पनि

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १ गते १३:५८
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_4.jpg

काठमाडौं। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जना पक्राउ परेका छन् ।  गाउँपालिका महासंघको अध्यक्ष समेत रहेकी पाण्डेको घरमा आगजनी गरेको आरोपमा शनिबार बिहान प्रहरीले थप ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका–८ का तरुण दलका क्षेत्रीय सभापति अमित गिरी, अविनाश काफ्ले, कुमार पुलामी र हुप्सेकोट गाउँपालिका–१ का कमल खनाल रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

अध्यक्ष पाण्डेलगायत जनप्रतिनिधिहरूले दर्ता गराएको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कावासोतीका गिरी नेपाली कांग्रेससम्बद्ध तरुण दलका क्षेत्रीय सभापति हुन् । पालिका अध्यक्ष पाण्डे पनि कांग्रेसबाट दोस्रोपटक निर्वाचित पालिका अध्यक्ष हुन् । 

यसअघि प्रहरीले हुप्सेकोट प्रहरी चौकीमा आगजनी र तोडफोडमा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिएको थियो। 


Facebook Comments