दुई बालिकाको शव नग्न अवस्थामा फेला, बला*त्कारपछि ह*त्याको आशंका

अंशुको शव बुझ्न आफन्तद्वारा इन्कार

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १४:४२
Image of https://mayorsap.com/storage/photos/shares/nagna-pak.jpg

विराटनगर । मोरङमा पछिल्लो तीन महिनाको अन्तरमा दुई बालिकाको शव नग्न अवस्थामा रहस्यमय तरिकाले फेला परेको छ । दुवै घटनामा बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । तर शव सडिसकेको अवस्थामा भेटिएकाले मेडिकल रिपोर्टले बलात्कार पुष्टि गर्न सकेको छैन ।

गत असार २८ गते बुढीगंगास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारको झाडीमा अन्दाजी १४–१५ वर्षकी बालिकाको नग्न शव भेटिएको थियो । चार महिनासम्म पहिचान नखुलेपछि प्रहरीले भारतीय नागरिक भएको आशंका गर्दै बेवारिसे शव भन्दै अन्त्येष्टिका लागि महानगरपालिकालाई पत्र पठाएको छ ।

यस्तै, गत असोज २१ गते हराएकी मोरङ, लेटाङकी १३ वर्षीया अंशु गौतमको शव गत कार्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत र नग्न अवस्थामा फेला परेको थियो । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अंशुको हत्यामा संलग्नको खोजीका लागि सीआईबीसहित संयुक्त टोलीले अनुसन्धानका सबै विधि प्रयोग गरिरहेको छ ।

तर, बुढीगंगाकी बालिकाको पहिचान नखुलेका कारण उक्त घटनाको अनुसन्धान मुल्तबीमा राखिएको छ । लेटाङकी बालिकाको शव हत्यारा पत्ता नलागेसम्म नबुझ्ने आफन्तको अडान छ ।


Facebook Comments