दुर्गा प्रसाईं पक्राउबारे प्रहरीले भन्यो– हिं*सा भड्काउने छुट कसैलाई छैन
प्रसाईंको अभिव्यक्ति कानुन विपरीत
मेयरसाप डेस्क
|
२०८२ मंसिर ३ गते १८:३०
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार राति १२ बजेतिर भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रसाईं पक्राउ परेपछि सरकारको आलोचना तीव्र भएको छ । बोलेकै आधारमा अनावश्यक रूपमा पक्राउ गरिएको भन्दै जेन–जी अगुवा सुदन गुरुङ र संविधानविद् भीमार्जुन आचार्यले गिरफ्तारीमा प्रश्न उठाएका छन् ।
गुरुङले प्रसाईंभन्दा भड्काउ अभिव्यक्ति दिने र हिंसा भड्काउनेहरूलाई कारबाही नगर्ने गृहमन्त्रीको आँट देखिएन भन्दै फेसबुकमार्फत आलोचना गरेका छन् ।
डा. आचार्यले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानुनतः बर्जित कार्य र नागरिक शासनको निकै ठूलो धब्बा भएको उल्लेख गर्दै सरकारसँग जवाफ मागेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गरी प्रसाईं आफ्नै अभिव्यक्तिका कारण पक्राउ परेको स्पष्ट पारेको छ । प्रवक्ता पवनकुमार भट्टराईका अनुसार कानुन विपरीतको गतिविधि गर्ने, सार्वजनिक शान्तिमा खलल पुर्याउने, मानिसलाई भड्काउने र हिंसा भड्काउने किसिमका अभिव्यक्ति दिने छुट कसैलाई छैन ।
प्रसाईंले दूतावासमा बम पड्काउने योजना रहेकोदेखि प्रहरीलाई कुटाइ नपुगेकोसम्मका अभिव्यक्ति दिएका थिए । प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
Facebook Comments