शिक्षक पेसाबाट निवृत्त भएपछि उद्यमी बने शिवलाल, एकैदिन कमाउँछन् ३० हजार
गोविन्द तिमिल्सेना
|
२०८२ मंसिर १२ गते १७:३८
बाजुरा । बडीमालिका नगरपालिका–९ का शिवलाल तिमिल्सेनाले ४० वर्षसम्म शिक्षण पेसामा बिताएपछि अहिले सदरमुकाम मार्तडीमा अर्ग्यानिक वस्तुको बिक्रीबाट सफल उद्यमी व्यवसायीको परिचय बनाएका छन् ।
वि.सं २०४० साल चैत्र ८ गतेबाट शिक्षक पेसा अङ्गालेका उनले ४० वर्षको अवधिमा ठूलो अनुभव बटुलेर सेवा निवृत्त भएपछि मार्तडीमा आफ्नै ‘तिमिल्सेना अर्ग्यानिक किराना पसल’ स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।
यस पसलमार्फत उनले स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न बालीको सङ्कलन र बिक्री वितरण गर्दै पनि आएका छन् ।
पेसा व्यवसाय कुनै पनि सानो ठूलो हुँदैन भन्ने उदाहरण दिँदै तिमिल्सेनाले शिक्षक पेसाबाट निवृत्त भएपछि गाउँमै केही गर्ने उद्देश्यले रैथाने बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्ने चाहनाका साथ यो पसल खोलेको बताउँछन् ।

उनले स्थापना गरेको यो केन्द्रले गाउँकै अर्ग्यानिक बालीनाली सङ्कलन गरी स्थानीय उत्पादनलाई काठमाडौं, नेपालगन्ज, पोखरा लगायत देशका ठूला सहरहरूमा मात्र नभई भारतसम्म पुर्याउन सहयोग गरेको छ ।
तिमिल्सेनाले अहिले करिब एक सयभन्दा बढी स्थानीय उत्पादित रैथाने तथा खाद्यान्न बाली सङ्कलन र बिक्री वितरण गर्दै आएका छन् । अर्ग्यानिक वस्तु बिक्रीबाट राम्रो आम्दानी हुने गरेको र एकै दिनमा ३० हजार रुपैयाँभन्दा बढी कमाइ हुने गरेको उनको भनाइ छ ।
स्थानीयको जीवनस्तर उकास्नका लागि पालिकाले रैथाने खाद्यान्न बाली, कृषि र जडीबुटीलाई मुख्य प्राथमिकतामा राख्नुपर्नेमा तिमिल्सेनाले जोड दिए ।
उनका अनुसार, स्थानीय सरकारले आफ्नै उत्पादित वस्तुहरूको प्रवर्द्धन तथा बजारीकरणको नीति अवलम्बन गरेमा स्थानीय रोजगारी र आर्थिक समृद्धिमा योगदान पुग्नेछ ।

Facebook Comments