पाइलट लामा र राणालाई क्यानले किन गर्‍यो कारबाही?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १२ गते १८:१२
Image of https://mayorsap.com/storage/photos/shares/bijya-aaa.jpg

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का वरिष्ठ पाइलट विजय लामा र सोनी राणालाई उडान सञ्चालन नियम उल्लङ्घन गरेको भन्दै तत्काल काममा नलगाउन निर्देशन दिएको छ ।

प्राधिकरणले उडानको सुरक्षा र अनुशासनसँग जोडिएको विषयलाई गम्भीरतापूर्वक लिँदै अर्को सूचना जारी नभएसम्मका लागि यी दुई पाइलटलाई उडान ड्युटीमा नखटाउन नेपाल वायुसेवा निगमलाई लिखित निर्देशन पठाएको हो ।

पाइलट लामा र राणाले उडान सञ्चालन भइरहेको अवस्थामा ककपिट भित्रै फोटो तथा भिडियो खिचेको पाइएपछि क्यानले ‘फ्लाइट सेफ्टी’को मापदण्ड उल्लङ्घन भएको ठहर गर्दै कारबाही अघि बढाएको हो ।

प्राधिकरणका अनुसार, उडानको संवेदनशील समयमा पाइलटहरू आफ्नो मुख्य जिम्मेवारीबाट विचलित भई अन्य गतिविधिमा संलग्न हुनु नियम विपरीत मानिन्छ ।

क्यानले उडान सुरक्षा नियमहरूको पालना सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना नदोहोरियोस् भनेर पाइलटद्वयलाई तत्काल उडान तालिकाबाट हटाउन निर्देशन दिएको हो ।


Facebook Comments