बाजुराका जीवन सार्की : जाे फोटो खिचेर कमाउँछन् मासिक ६० हजार
गोविन्द तिमिल्सेना
|
२०८२ मंसिर १२ गते १८:५७
बाजुरा । बाजुराकाे जगन्नाथ गाउँपालिका–६ बैशारुख घर भएका २६ वर्षीय जीवन सार्कीको हाल सदरमुकाम मार्तडीमा बसोबास छ । सामान्य परिवारमा जन्मेका जीवन हाल सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बाजुरा क्याम्पसमा स्नातक तह पूरा गरेर स्नातकोत्तर भर्नाको तयारीमा छन् ।
अध्ययनलाई नछोडी आत्मनिर्भर बन्नका लागि जीवनले २०७५ सालमा मार्तडीमा ‘ए वान फोटो स्टुडियो’ सञ्चालनमा ल्याएका थिए । स्टुडियोबाट आएको सानो आम्दानीले सम्पूर्ण घरपरिवार धान्न अप्ठ्यारो परेपछि उनले नयाँ विकल्प सोचे । अहिलेको प्रविधियुक्त युगमा फोटो सुट गर्ने प्रवृत्तिको हाबीलाई मध्यनजर गर्दै, उनले मार्तडीमा व्यावसायिक फोटो सुट गर्ने ठाउँ बनाउने योजना बनाए ।
अनेक बाधा अड्चन आए पनि हार नमानेर दृढ सङ्कल्पका साथ अघि बढेका जीवनले आफ्नै लगानीमा बडीमालिका नगरपालिका नजिकै जग्गा भाडामा लिएर फोटो सुट गर्ने ठाउँ तयार पारे । अहिले उक्त ठाउँ, जसलाई उनले ‘नमस्ते ढोगदियामा’ नाम दिएका छन् । त्यहाँ दैनिक एक सयभन्दा बढी युवायुवतीहरू फोटो खिच्न आउने गरेका छन् ।

फोटो खिचेर सङ्कलन हुने रकमबाट मासिक पाँच हजार जग्गा भाडा, दैनिक खानपिन र घर खर्च चल्ने गरेको जीवन बताउँछन् । उनी फोटोको २५ रुपैयाँ र भिडियोको ६० रुपैयाँ लिने गर्छन्, जसबाट दैनिक न्यूनतम १५ सयदेखि २ हजार रुपैयाँसम्म आम्दानी हुने गर्छ । सिजनको समयमा त एकै दिनमा पाँच हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ ।
मासिक न्यूनतम ५० देखि ६० हजार रुपैयाँ कमाइ हुने गरेकाले जीवनले अहिले भाइलाई काठमाडौंमा पढाइ रहेका छन् भने श्रीमती र छोरालाई समेत पढाउँदै आफू पनि अध्ययन गरिरहेका छन् । क्यामरा नै अहिले उनको सहारा बनेको छ ।
स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्दै जीवनले सम्पूर्ण युवाहरूलाई विदेश पलायन हुनुभन्दा आफ्नै माटोमा कर्म गर्ने अठोटका साथ लाग्न प्रेरित गरेका छन् । ‘मान्छे सानो पेसा गर्न लजाउँछन् । तर सानो पेसाबाट पनि सबै सामु प्रेरणात्मक र उदाहरणीय बन्न सकिँदो रहेछ’, उनी भन्छन्, ‘सानो पेसा, व्यवसाय लाजको होइन, गौरवको विषय हो ।’
जीवन सार्कीको व्यवसायबाट कर्मशीलताको पाठ सिक्न सकिन्छ । कर्मअनुसार काम गरे सफलता खोज्न टाढा जानु पर्दैन भन्ने उदाहरण उनी बनेका छन् । कुनै पनि पेसा व्यवसाय सानो ठूलो हुँदैन भन्ने कुरालाई चरितार्थ गर्दै, बाजुरा जस्तो विकट क्षेत्रमा हातमा क्यामरा समातेर जीवन सार्कीले सफल कर्मशील युवाको ज्वलन्त उदाहरण प्रस्तुत गरेका छन् । दृढ इच्छाशक्ति र कर्म गर्ने अठोट भए स्वदेशमै रोजगारीका प्रशस्त सम्भावनाहरू छन्, भन्ने कुरा जीवनको सफलताले देखाएको छ ।

Facebook Comments