गाँजा खेतीलाई कानुनी मान्यता दिन मुख्यमन्त्री बानियाँको माग

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १६:१४
Image of https://mayorsap.com/storage/photos/shares/photo-3-8b27b7a6.png

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ र कैलाश गाउँपालिकामा अवैध रूपमा लगाइएको ३० बिघा गाँजा र अफिम खेती नष्ट गरेको छ । विशेष अभियानअन्तर्गत राक्सिराङका विभिन्न वडामा २१ बिघा र कैलाशमा ९ बिघा खेती फडानी गरिएको प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरीले अवैध खेती नष्ट गरिरहेकै समयमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । कैलाश गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले गाँजाको रेसाबाट बनेको कोट प्रदर्शन गर्दै यसलाई लागूऔषध नभई औषधीय वनस्पतिको रूपमा लिइनुपर्ने बताए ।

मुख्यमन्त्री बानियाँले गाँजालाई कानुनी दायरामा ल्याएर व्यावसायिक प्रयोग गर्न सके विपन्न समुदायको आर्थिक अवस्था सुधार हुने दाबी गरे । उनले भने, ‘गाँजाको कोट लगाउन हुने तर गरिब किसानले यसको प्रयोग गर्दा जेल जानुपर्ने वर्तमान कानुनी व्यवस्था बदल्न आवश्यक छ ।’

सोही कार्यक्रममा मुख्यमन्त्रीले आफ्नो निजी खर्चमा कैलाश–४ का विपन्न चेपाङ दम्पतीका लागि निर्माण गरिएको घर समेत हस्तान्तरण गरेका छन् । संघीय कानुनले गाँजालाई प्रतिबन्धित बालीको सूचीमा राखेकाले प्रहरीले नष्ट गर्ने अभियान जारी राख्ने जनाएको छ, भने मुख्यमन्त्रीले यसको खुल्ला वकालत गर्दा नीतिगत विरोधाभास देखिएको छ ।


Facebook Comments