स्वास्थ्य बीमाकाे रकम हिनामिना प्रकरणमा तीन जनालाई २ वर्ष कैद

सुर्खेत प्रदेश अस्पताल भ्रष्टाचार प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १७:१५
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar-durupayog-anusandhan-aayog.jpg

काठमाडौं । विशेष अदालतले स्वास्थ्य बीमाको रकम हिनामिना गरेको ठहर गर्दै सुर्खेत प्रदेश अस्पतालका कर्मचारीसहित तीन जनालाई २ वर्ष कैद र बिगो बमोजिम जरिवानाको फैसला सुनाएको छ ।

शुक्रबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कर्मचारी तृप्ति शाही, लेखा अधिकृत शंकरप्रसाद सुवेदी र तत्कालीन बैंक कर्मचारी गोमा सिंजाली मगरलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अस्पतालको सामाजिक सेवा एकाइमा कार्यरत शाहीले स्वास्थ्य बीमाका बिमितहरूको दर्ता गर्ने क्रममा अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी रकम सङ्कलन गरेकी थिइन् । त्यसरी उठाएको रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको उजुरीपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अदालतले प्रतिवादी सुवेदी र शाहीलाई जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ जरिवाना र सोही बराबरको बिगो असुल गर्ने आदेश दिएको छ । अर्का प्रतिवादी गोमा सिंजाली मगरको हकमा भने ८ लाख ६९६ रुपैयाँ जरिवाना र बिगो असुल हुने फैसला भएको छ ।

अख्तियारले गत असार ९ गते उनीहरूविरुद्ध २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


Facebook Comments