विद्यालय पुगेर विद्यार्थीलाई खाजा बनाउँछन् भाग्योदयका अभिभावक
बालबालिकाले पाउँछन् घरकै जस्तो खाजा
मेयरसाप डेस्क
|
२०८२ पुष १८ गते १८:०४
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–६ स्थित भाग्योदय माध्यमिक विद्यालयका अभिभावकहरूले विद्यार्थीका लागि विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।
सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई उपलब्ध गराएको निःशुल्क दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावकहरूले श्रम र आर्थिक सहयोग गर्दै आएका हुन् ।
विद्यालयका प्रधानाध्यापक रेशम खनालका अनुसार १८५ जना विद्यार्थीका लागि खाजा बनाउन एक जना भान्से नियुक्त गरिएको छ । तर, एक्लैले सबैलाई खाजा खुवाउन कठिन हुने भएपछि अभिभावक भेलाले दैनिक तीन जना अभिभावक आलोपालो विद्यालय आउने निर्णय गरेको हो ।
विद्यालयले अभिभावकको नामावलीसहितको तालिका नै बनाएर यसलाई नियमित गरेको छ । सरकारले उपलब्ध गराउने रकमले पर्याप्त खाजा खुवाउन कठिन भएपछि अभिभावकहरूले श्रमदानका साथै मासिक २०० रुपैयाँ थप गर्ने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले भने, “हामीले विद्यार्थीलाई अघाउन्जेल खुवाउने लक्ष्य राखेका छौँ, त्यसैले आइतबारदेखि शुक्रबारसम्म तालिकाअनुसार फरक–फरक तात्तातो परिकार खुवाउँछौँ ।”
नमूना विद्यालयको रूपमा रहेको यस विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत आफ्नै परिसरमा च्याउ, तरकारी र ड्रागन फ्रुट समेत उत्पादन गर्दै आएको छ ।
Facebook Comments