चितवनको चेपाङ बस्तीमा लुगा र शैक्षिक सामग्री वितरण
विद्यार्थी उत्साहित
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १७:५३
चितवन । भरतपुरका महिलाहरूको संस्था स्पन्दन नेपालले कालिका नगरपालिका–११, सिद्धिको विकट दौतेस गाउँका चेपाङ बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ ।
हरेक वर्ष चिसो मौसममा दुर्गम बस्ती पुग्ने अभियान अन्तर्गत संस्थाले शनिबार राष्ट्रिय आधारभूत विद्यालयका ४२ जना विद्यार्थीलाई न्यानो लुगा, स्टेसनरी र खेलकुदका सामान वितरण गरेको हो ।
दौतेस गाउँको यो विद्यालयमा बालविकासदेखि कक्षा ३ सम्म मात्र पढाइ हुन्छ । यहाँका विद्यार्थीहरू २ घण्टासम्म पैदल हिँडेर विद्यालय आउने गर्छन् भने कक्षा ३ पछि थप अध्ययनका लागि झनै टाढा जानुपर्ने बाध्यता छ ।
विकट भौगोलिक अवस्था र खानेपानीको समेत अभाव रहेको यस क्षेत्रमा संस्थाले पुर्याएको सहयोगले बालबालिकालाई राहत मिलेको विद्यालयका प्रधानाध्यापक खड्का चेपाङले बताए ।
भरतपुर हाइट क्षेत्रका २५ जना महिलाहरू आबद्ध रहेको यस संस्थाले आफ्नै व्यक्तिगत लगानीमा यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।
संस्थाकी अध्यक्ष अनिता खनालका अनुसार यसअघि पनि सिद्धिका विभिन्न ६ वटा पहाडी विद्यालयमा न्यानो कपडा र स्वास्थ्य शिविर सञ्चालन गरिसकिएको छ ।
Facebook Comments