सरकार फागुन २१ को चुनाव सार्ने बहाना खोज्दैछ : मुख्यमन्त्री कँडेल
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १८:०३
सुर्खेत । नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने दाउमा रहेको आरोप लगाएका छन् ।
शनिबार सुर्खेत क्षेत्र नं. २ को निर्वाचन क्षेत्र समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै कँडेलले सरकारको नियत र व्यवहार चुनावप्रति स्पष्ट नदेखिएको टिप्पणी गरे ।
मुख्यमन्त्री कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम बेचेर निर्वाचन टार्ने प्रयास भए पनि अहिले सरकार आफैँ अन्योलमा रुमल्लिएको बताए ।
‘सरकार एकातिर चुनाव हुन्छ भन्छ, अर्कोतिर हाम्रा पार्टी अध्यक्षलाई स्थान हद तोकेर प्रचारप्रसारमा अवरोध गर्छ,’ उनले भने, ‘विपक्षी दलका नेतालाई हिँडडुलमै रोक लगाएर कसरी निष्पक्ष निर्वाचन सम्भव छ?’
एमाले सधैं लोकतान्त्रिक मूल्य–मान्यता र निर्वाचनको सम्मान गर्ने पार्टी भएको उल्लेख गर्दै उनले जुनसुकै परिस्थितिमा पनि चुनावमा सहभागी हुन तयार रहेको प्रस्ट पारे ।
यद्यपि, त्यसका लागि सरकारले भयमुक्त र स्वतन्त्र वातावरण सुनिश्चित गर्नुपर्नेमा उनको जोड थियो । नेता–कार्यकर्तालाई एकताबद्ध हुन आह्वान गर्दै उनले संविधान र लोकतान्त्रिक विरासत जोगाउन एमाले एकजुट हुनुपर्ने बताए ।
Facebook Comments