कमाने प्रिमियर लिगको अक्सन सम्पन्न
हेटौंडा । कमाने प्रिमियर लिग (केपीएल) सिजन–४ को प्लेयर अक्सन कार्यक्रम शनिबार सम्पन्न भएको छ। प्रतियोगिताको तयारीस्वरूप मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर–८ स्थित शुभ ब्याङक्वेटमा आयोजना गरिएको अक्सनमा ६ वटै टिमले आफ्नो टोली बनाएका छन्।
६ टिम सहभागी हुने प्रतियोगितामा १३१ जना सूचीकृत खेलाडीमध्ये प्रत्येक टिमले २ जना मार्की खेलाडी (जसमध्ये १ जना स्थानीय खेलाडी अनिवार्य) सहित अक्सनमार्फत खेलाडी छनोट गरेका हुन्। अक्सनअघि नै प्रत्येक टिमले आफ्नो कप्तान तय गरिसकेको आयोजकले जनाएको छ।
यस संस्करणमा नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका जनकपुर बोल्ट्सका खेलाडी शुभ कंशकारले समेत कमाने प्रिमियर लिग खेल्ने भएका छन् । अक्सन प्रक्रियामार्फत ५२ जना स्थानीय खेलाडी छनोट भएका छन् भने बाँकी खेलाडीहरू ट्यालेन्ट हन्ट तथा अन्य प्रक्रियामार्फत ६ वटै टिमले आवश्यकताअनुसार खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
कमाने क्रिकेट क्लबको आयोजनामा हुन लागेको कमाने प्रिमियर लिग सिजन–४ आगामी माघ १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्दै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ।
Facebook Comments