प्रचण्ड दिल्ली उड्नुअघि ओलीसँग गोप्य भेटवार्ता

'वान टु वान' संवाद

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १२:४६
Image of https://mayorsap.com/storage/photos/shares/oli-prachand.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच आइतबार गोप्य भेटवार्ता भएको छ । आइतबार साँझ भारतको नयाँ दिल्ली प्रस्थान गर्न लागेका प्रचण्डलाई भेट्न ओली च्यासल पुगेका हुन् ।

च्यासलस्थित एक निजी निवासमा दुई नेताबीच करिब २५ मिनेट ‘एक्लाएक्लै’ संवाद भएको थियो । प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार, भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अवस्था र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल भएको छ ।

शनिबार नै हुने भनिएको यो भेट प्रचण्ड सङ्खुवासभाबाट फर्कन ढिला भएका कारण आजलाई सरेको थियो । भेटमा राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा वामपन्थी शक्तिहरूबीच कसरी चुनावी तालमेल वा सहकार्य गर्ने भन्नेबारे प्रारम्भिक कुराकानी भएको स्रोतले जनाएको छ ।

विस्तृत विवरण सार्वजनिक नगरिए पनि दुई शीर्ष नेताबीच चुनावी वातावरणलाई सहज बनाउने र निर्वाचनमा मिलेर जाने विषयमा समझदारी खोज्ने प्रयास भएको बुझिएको छ । ओलीसँगको भेट लगत्तै प्रचण्ड दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


Facebook Comments