मधेसमा साम्प्रदायिक तनाव : धनुषादेखि पर्सासम्म सुरक्षा 'हाइअलर्ट'

वीरगञ्जमा प्रदर्शन, प्रदेशभर सुरक्षा फौज परिचालन

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १३:००
Image of https://mayorsap.com/storage/photos/shares/birgunj-tanab-1024x616.jpg

जनकपुरधाम । टिकटकमा एक–अर्काको धर्म र संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव उत्पन्न भएको छ । धनुषाबाट सुरु भएको यो विवादको असर पर्साको वीरगञ्जसम्म पुगेपछि प्रदेशभर सुरक्षा सतर्कता अत्यन्तै कडा पारिएको छ ।

केही दिनअघि जनकपुरका हैदर अन्सारी र अमानत अन्सारी नामका दुई युवकले टिकटकमा धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो पोस्ट गरेका थिए । सो भिडियोका कारण सामाजिक सद्भाव बिग्रन सक्ने भन्दै स्थानीयले ती दुई युवकलाई प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेका बेला युवकहरू पक्राउ परेको विरोधमा एक समूह आक्रोशित भयो । सोही तनावका बीच मस्जिदमा आक्रमण समेत भएको थियो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार मस्जिदमा आक्रमण गर्ने व्यक्तिहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको यही घटनालाई लिएर आज बिहानैदेखि वीरगञ्जमा प्रदर्शन भइरहेको छ । स्थिति थप बिग्रन नदिन मधेसका आठै जिल्लामा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । एक उच्च सुरक्षा अधिकारीका अनुसार परिस्थितिलाई थप संवेदनशील हुन नदिन र सामाजिक सद्भाव कायम राख्न सुरक्षा संयन्त्रलाई ’हाइअलर्ट’ मा राखिएको छ ।


Facebook Comments