कोटगढीको संरक्षण र प्रवर्द्धन गर्दै पौवादुङमा गाउँपालिका

पर्यटनको नयाँ गन्तव्य बन्दै

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १४:०१
Image of https://mayorsap.com/storage/photos/shares/kotgadhi-photo-16.jpg

भोजपुर । पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध कदम अघि बढाएको छ । स्थानीय इतिहासको संरक्षण गर्दै आन्तरिक पर्यटनमार्फत ग्रामीण अर्थतन्त्र बलियो बनाउने उद्देश्यले पालिकाले पूर्वाधार निर्माणमा जोड दिएको हो ।

गाउँपालिकाको सदरमुकाम नजिकै रहेको कोटगढीसम्म पुग्न सहज बनाउन गाउँपालिकाको रु ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानमा सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ । यस पूर्वाधारले पर्यटक र स्थानीय बासिन्दालाई सुरक्षित र सहज आवागमनको सुविधा प्रदान गरेको छ ।

कोटगढीको धार्मिक गरिमालाई थप प्रवद्र्धन गर्न सङ्घीय सांसद लक्ष्मी राईको संसद् विकास कोषबाट प्राप्त रु १ लाखको सहयोगमा परिसरमा मन्दिर निर्माण गरिएको छ । 

ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै गाउँपालिका अध्यक्ष किरण राईले भने, ‘कोटगढी आफैँमा एक गौरवशाली सम्पदा हो । हामी यसलाई पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न पूर्वाधार र प्रचारप्रसारमा केन्द्रित छौँ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार पालिकाभित्रका पर्यटकीय, धार्मिक र ऐतिहासिकस्थलहरूको एकीकृत विकास गर्ने नीति लिइएको छ । कोटगढीको विकासले नयाँ पुस्तालाई स्थानीय इतिहास र संस्कृतिबारे जानकारी दिने मात्र नभई स्थानीय स्तरमा रोजगारीका अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

पदमार्ग र मन्दिर निर्माणपछि यस क्षेत्रमा इतिहास प्रेमी, धार्मिक श्रद्धालु र आन्तरिक पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन् । आगामी दिनमा थप विश्रामस्थल र अन्य सुविधाहरू थप्न सके कोटगढी भोजपुरकै प्रमुख पर्यटकीय आकर्षण बन्ने विश्वास गरिएको छ ।


Facebook Comments