काठमाडौं महानगरलाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै
गल्ती गर्ने कोही उम्किन नपाउने
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १५:००
काठमाडौं । काठमाडौं महानगरलाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरिने भएको छ । वडा–वडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान गर्ने कार्य तीव्र बनाएको हो ।
कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरानेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार यस क्रममा वडा नं २६ ले वडामा निगरानी कक्ष सञ्चालनमा ल्याई विभिन्न ७७ वटा क्यामरा जडान गरिसकेको छ ।
वडा नं ३२ र ३ को बोलपत्र आह्वान हुने चरणमा छ । वडा नं १४ को बोलपत्र आह्वान भइसकेको छ । सहरभित्रका सिसिटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) बनाउनका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
‘यो अत्याधुनिक प्रणाली जडान भइसकेपछि अल्ट्राएचडी (फोरके) क्वालिटीमा आवाजसहित दृश्य प्राप्त हुन्छ । यसबाट कुनै घटना हुनासाथ प्रहरी र सम्बन्धित अधिकारीलाई स्वचालित प्रणालीबाट दृश्य र फोटोसहितको जानकारी पुग्छ । दुर्घटना भए तत्काल उद्धार गर्न सकिन्छ’, उनले भने ।
कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार विगतका अपराधजन्य घटना हेर्दा अपराध गर्नेले सबैभन्दा पहिले सिसिटिभीमा क्षति गरेको देखिन्छ । ‘एउटा क्यामरामा क्षति गरे त्यसको विवरण अर्कोले पठाउने प्रणालीसहित सहरको निगरानी गर्ने क्यामरा जडान गरेका छौँ । यसको संरक्षणमा सबैको समन्वय आवश्यक छ’, उनले भने ।
सडक तथा सार्वजनिकस्थलमा गल्ती गरेर अब कोही उम्किन नपाउने गुरागाईंको भनाइ छ । “यसले अपराध गर्नेको मात्र होइन । विकासमा दोहोरोपना गर्ने र गलत विकास संरचना बनाउनेको पनि निगरानी गर्नेछ”, उनले भने ।
‘अहिले जडान भएका क्यामराहरुरू एआई प्रविधिमा आधारित आठ वटासम्म सेन्सर जोड्न मिल्ने, ओपन नेटवर्क भिडियो इन्टरफेस फोरम (ओएनभिआइएफ) प्रोटोकलका हुन्’, गुरागाईं भन्छन ‘आठ मेगापिक्सल र चार मेगापिक्सलका क्यामराले ५५० मिटरसम्म दुरीका दृश्यहरू स्पष्ट रूपमा खिच्न र कैद गर्न सक्छन् ।’
एआईका विशेषता भएका यी क्यामराले सवारीसाधनको नम्बर प्लेट, मानिसको अनुहार, मानिस तथा सवारीसाधन आवतजावतको गणना पनि गर्ने उनले जानकारी दिए । बत्ती गए पनि यी क्यामरा चल्नेगरी व्यवस्था गरिएको छ ।
Facebook Comments