सर्लाही वन रक्षक ह*त्या प्रकरण : झाडीमा भेटियाे टाउको

User Image मेयरसाप डेस्क | २०८२ पुष २० गते १४:४५
Image of https://mayorsap.com/storage/photos/shares/de.PNG

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा विभत्स हत्या गरिएका वन रक्षक ४७ वर्षीय रामईश्वर महतोको टाउको फेला परेको छ ।

शनिबार टाउको बिनाको शरीर मात्र फेला परेकोमा आइतबार मध्यान्ह घटनास्थलबाट करिब १०० मिटर उत्तरतर्फको झाडीमा टाउको फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार, तालिमप्राप्त कुकुर र सुरक्षाकर्मीको टोलीले खोजी गर्ने क्रममा झाडीमा लुकाइएको अवस्थामा टाउको फेला पारेको हो ।

परियोजना वनमा चौकिदार (वन संरक्षक) का रूपमा कार्यरत महतो शनिबार बिहान ५ बजेतिर वनमा रूख काटेको आवाज सुनेपछि घरबाट निस्किएका थिए । 

दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्दा उनको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले शव फेला परेको स्थान नजिकै रगत लागेको बञ्चरो समेत बरामद गरेको छ ।

घटनाको अनुसन्धानका लागि धनुषाको लालगढबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको थियो । प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा राईटरखोरकै स्थानीय रामवली महतोलाई शनिबार नै पक्राउ गरिसकेको छ ।

घटनाको प्रकृति हेर्दा रिसइबीका कारण बञ्चरो प्रहार गरी विभत्स हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।


Facebook Comments