युवक बेपत्ता घटना: डोल्पामा यातायात ठप्प, छानबिन समिति गठन
लखेटेर ज्यान लिएको स्थानीयको आरोप
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १६:०४
डोल्पा । प्रहरी चेकजाँचका क्रममा एक युवक भेरी नदीमा हाम फालेर बेपत्ता भएपछि डोल्पामा तनाव उत्पन्न भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँका ३४ वर्षीय जुन रोकाय बेपत्ता भएको घटनालाई लिएर स्थानीय आन्दोलित भएपछि जिल्लाभरको यातायात सेवा अनिश्चितकालीन रूपमा बन्द भएको छ ।
गत शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय करोपगार्ड नजिकै लागुऔषधको आशंकामा चेकजाँच गर्न खोज्दा रोकाय नदीमा हाम फालेका थिए । प्रहरीले उनी आत्तिएर हाम फालेको बताए पनि स्थानीयले भने प्रहरीले लखेटेका कारण घटना घटेको आरोप लगाउँदै प्रहरी कार्यालयमा तोडफोड गरेका छन् ।
तनाव बढेपछि उक्त कार्यालयका १० जना प्रहरीलाई जिल्ला तानिएको छ, भने प्रत्यक्ष जोडिएका ४ जनालाई निगरानीमा राखिएको छ । घटनाको निष्पक्ष छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भिमराज कोइरालाले छानबिन सुरु भइसकेकाले संयमित हुन र यातायात सुचारु गर्न आग्रह गरेका छन् । हाल जिल्लाका प्रमुख नाकाहरूमा सवारी साधन रोकिएका छन्, भने बिरामी र अत्यावश्यक सेवालाई मात्र पासको आधारमा अनुमति दिइएको छ ।
Facebook Comments