काठमाडौं महानगरका जनप्रतिनिधि र ट्राफिक प्रहरीबीच अन्तरक्रिया
सडक सुरक्षाका लागि नीति तथा कार्यक्रम निर्माण गर्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता
मेयरसाप डेस्क
|
२०८२ पुष २४ गते ११:१६
काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटनालाई कम गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिबीच बुधबार अन्तरक्रिया तथा छलफल भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सडक दुर्घटनाको कारण, न्यूनीकरणका उपाय, स्थानीय तहको भूमिका तथा दीर्घकालीन सचेतना अभियानलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कार्यक्रममा महानगरपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा ट्राफिक प्रहरी प्रमुख सहितका अन्य ट्राफिक प्रहरी अधिकृतको सहभागिता थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । सडक दुर्घटना कम गर्न अभियान तथा ट्राफिक सप्ताह सञ्चालन गरिएको उनले बताए । स्थानीय तहको सक्रिय सहभागितामा विद्यालय, टोल तथा समुदायस्तरसम्म सचेतना कार्यक्रम विस्तार गरिने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम निर्माण गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरूले सडक सुधार, जेब्राक्रसिङ, ट्राफिक सङ्केतको व्यवस्थापन, पैदलयात्रीमैत्री पूर्वाधार र सचेतना कार्यक्रमका लागि आफूहरुले आवश्यक सहयोग गर्ने बताए ।
Facebook Comments