निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन अधिकारकर्मीहरूको आह्वान
'आचारसंहिता सबैका लागि बाध्यकारी'
मेयरसाप डेस्क
|
२०८२ माघ ९ गते १३:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन मानव अधिकारवादी संस्थाहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
नेपाल मानव अधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संयुक्त विज्ञप्ति जारी गर्दै दलहरू, उम्मेदवार र सरकारी निकायलाई आचारसंहिता अक्षरशः पालना गर्न आह्वान गरेका हुन् ।
सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र इन्सेकका अध्यक्ष विजयराज गौतमले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस प्रक्रियामा हुने हिंसा, डरत्रास, प्रलोभन र सरकारी स्रोतको दुरुपयोग रोक्नुपर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमा सुरक्षा निकायलाई व्यावसायिक भूमिका निर्वाह गर्न र सञ्चारमाध्यमलाई सन्तुलित समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ । साथै, मतदातालाई कुनै पनि दबाब वा गलत सूचनाको भरमा नपरी स्वतन्त्र रूपमा मतदान गर्न अनुरोध गरिएको छ ।
अधिकारकर्मीहरूले मनोनयनका क्रममा केही स्थानमा देखिएको तडकभडक र उत्तेजक गतिविधिप्रति ध्यानाकर्षण गराउँदै निर्वाचन आयोगलाई आचारसंहिता उल्लङ्घन गर्नेमाथि कडा कारबाही गर्न समेत माग गरेका छन् ।
‘स्वच्छ र भयरहित निर्वाचन नै लोकतन्त्रको आधार हो, त्यसैले सबै पक्ष जिम्मेवार बन्नु पर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
Facebook Comments