ओलीसँग ‘पब्लिक डिबेट’मा बस्न किन तयार भएनन् बालेन ? यस्तो छ जवाफ
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १०:१३
काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा दलहरुले भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारिएका नेताहरुबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्नु पर्ने विषयले राजनीति गर्माएको छ ।
एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, काठमाडौं महानगरका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह, नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, धरान उपमहानगरपालिकाका पूर्वमेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत का शीर्ष नेताहरुबीच सार्वजनिक बहस गर्नु पर्ने माग बढेको छ ।
एमाले अध्यक्ष ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि काठमाडौं झापा–५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफूलाई देश जलाउने र आतङ्कवादीको रूपमा चित्रित गरिएको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै उनले ओली तयार भएको भनिएको पब्लिक डिबेटमा नबस्ने बताएका हुन् ।
उनले भदौ २३ गते बालबालिकाको हत्या र २४ गते भएको आगजनी घटनाको जिम्मेवारी आफूहरूमाथि थोपरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ;
आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला !७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।
के भनेका थिए ओलीले ?
पब्लिक डिबेटको लागि तयार छौं
नयाँ/पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्।
देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।
Facebook Comments