राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
कोशीमा थापा निर्विरोध
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १०:१९
काठमाडौं । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि आज बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार, १८ मध्ये कोशी प्रदेशमा खस आर्यतर्फ नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ पदका लागि मात्रै निर्वाचन भइरहेको हो । मतदान कार्य आज दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
निर्वाचनका लागि सातै प्रदेशका राजधानीहरू—विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, घोराही, वीरेन्द्रनगर र धनगढीमा तोकिएका मतदान केन्द्रहरूमा मतदान भइरहेको छ । यस निर्वाचनमा प्रदेशसभा सदस्यहरू र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गरिरहेका छन् ।
आयोगले मतभारको हकमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रतिनिधिको १९ कायम गरेको छ । मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको र ३ बजेपछि लगत्तै मतगणनाको तयारी गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
Facebook Comments