म्याग्दीमा चार करोड लागतमा विद्यालयकाे भवन निर्माण
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १०:३३
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयको नयाँ आधुनिक भवन निर्माण कार्य सम्पन्न भएको छ ।
सङ्घीय सरकारको करिब ४ करोड रुपैयाँ अनुदान सहयोगमा अन्नपूर्ण गाउँपालिकाले १६ कोठे तीनतले भूकम्पप्रतिरोधी भवन निर्माण गरेको हो ।
निर्माण कम्पनीले २०८० सालमा ३ करोड ८४ लाख १८ हजार ९०७ रुपैयाँमा ठेक्का सम्झौता गरी तोकिएकै समय अर्थात् २०८२ पुसभित्रै निर्माण कार्य सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।
आर्थिक वर्ष २०८१–८२ मा बजेट विनियोजनमा केही अन्योल भए पनि चालु आर्थिक वर्षमा बाँकी १ करोड ८४ लाख रुपैयाँ विनियोजन भएपछि भवनले पूर्णता पाएको हो ।
नयाँ भवन बनेपछि विद्यालयमा सञ्चालित इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पठनपाठन र कक्षा १२ सम्मका १६५ जना विद्यार्थीलाई शैक्षिक वातावरणमा सहजता मिलेको प्रधानाध्यापक दुर्गालाल रोकाले बताए ।
यद्यपि, निर्माण सम्पन्न भइसक्दा पनि सरकारले बजेट निकासा नदिएकाले निर्माण व्यवसायीले पूर्ण भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् ।
हालसम्म करिब २ करोड रुपैयाँ खर्च भइसकेको भए पनि चालु आवको विनियोजित रकम प्राप्त हुन बाँकी रहेको विद्यालयले जनाएको छ ।
Facebook Comments