आन्दोलनका घाइतेलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रीको आह्वान
व्यक्तिगत खर्च फिर्ता गरिनेब
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १५:१२
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएकाहरूलाई वर्गीकरण प्रक्रिया पूरा गर्नका लागि यथाशीघ्र मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेकी छिन् ।
आफ्नो कार्यकालको तीन महिना पूरा भएको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री गौतमले आन्दोलनका क्रममा पहिचान भएका दुई हजार एक सय ९ जना घाइतेमध्ये हालसम्म एक सय ८९ जनाको मात्र वर्गीकरण सकिएको जानकारी दिइन् ।
बाँकी घाइते जेनजीहरू अझै सम्पर्कमा नआएकाले उनीहरूको उपचार र वर्गीकरणलाई पूर्णता दिन मन्त्रीले विशेष अनुरोध गरेकी हुन् ।
मन्त्री गौतमका अनुसार, आन्दोलनका घाइतेहरूको उपचारको जिम्मा सरकारले लिएको छ र अस्पतालहरूमा व्यक्तिगत रूपमा औषधि उपचार खर्च गरिसकेका घाइतेहरूलाई सो रकम फिर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसका लागि मन्त्रालयले कार्यविधि नै बनाएर अस्पतालहरूलाई रकम फिर्ता गर्ने निर्देशन दिइसकेको छ ।
सोही कार्यक्रममा मन्त्रीले मन्त्रालयले मानसिक स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै धेरैजसो सङ्घीय अस्पतालहरूमा मनोसामाजिक परामर्श केन्द्रहरू सञ्चालनमा आइसकेको जानकारी दिइन् ।
Facebook Comments