प्रधान सेनापति खुल्ला म्याराथन प्रतियोगिता हुँदै

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १४:४९
Image of https://mayorsap.com/storage/photos/shares/kaski_1.jpg

काठमाडौं । नेपाली सेनाले यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ गते आयोजना गर्ने भएको छ । 

नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले पत्रकार सम्मेलनमार्फत ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नाराका साथ प्रतियोगिताको ११औँ संस्करण सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

वि.सं. २०७२ देखि महाशिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजना हुँदै आएको यस प्रतियोगितामा यसपटक विभिन्न पाँच विधामा करिब दुई हजार ५०० धावकहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको मुख्य आकर्षण ४२.१९५ किलोमिटरको पुरुष म्याराथन रहेको छ, जसमा प्रथम हुनेले रु तीन लाख, द्वितीयले रु दुई लाख र तृतीयले रु एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, महिला र पुरुष दुवैका लागि हुने २१ किलोमिटरको हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार पुरस्कार पाउने सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

म्याराथनका साथै सैनिक अधिकृत, कर्मचारी र विद्यार्थीहरूका लागि १० किलोमिटर तथा ५ किलोमिटरका विभिन्न दौड प्रतियोगिताहरू पनि समावेश गरिएका छन् । सोही दिन उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहने ५ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ ।

१० र ५ किलोमिटर दौडका विजेताहरूलाई रु १० हजार, रु ७ हजार र रु ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस वर्षको महाशिवरात्रि तथा सेना दिवस आगामी फागुन ३ गते परेकाले त्यसको पूर्वसन्ध्यामा यो खेलकुद महोत्सव आयोजना हुन लागेको हो ।


Facebook Comments