स्वदेशमै अवसर पहिचान गर्न युवाहरूलाई प्रधानमन्त्रीको आह्वान

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १४:२०
Image of https://mayorsap.com/storage/photos/shares/sushila-karki.jpg

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली युवा विद्यार्थीहरूलाई मुलुकभित्रै अवसरहरूको पहिचान गरी देश निर्माणमा जुट्न आह्वान गरेकी छिन् ।

काठमाडौँमा आयोजित नेपाल खुला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकमा विद्यमान बेथितिबाट भागेर नभई त्यसको डटेर सामना गरी स्वदेशमै नयाँ अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

जहाँ पुगे पनि नेपालले गर्व गर्न सक्ने नागरिक बन्न आग्रह गर्दै उनले विद्यार्थीहरूलाई आफ्नो सीप र ज्ञान मातृभूमिको हितमा प्रयोग गर्न उत्प्रेरित गरिन् ।

विश्वविद्यालयकी कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समारोहमा विज्ञान, स्वास्थ्य तथा प्रविधि, सामाजिक शास्त्र तथा शिक्षा र व्यवस्थापन तथा कानुन सङ्कायका गरी कुल ५४५ उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेकी छन् । जसमध्ये समारोहमा १९१ जना विद्यार्थीहरूको भौतिक उपस्थिति रहेको थियो ।

सो अवसरमा उनले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट अङ्क हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई कुलपति पदक समेत वितरण गरिन् । खुला शिक्षाको माध्यमबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरूले मुलुकको प्राज्ञिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।


Facebook Comments