कोरिया जान नपाएपछि ईपीएस उत्तीर्ण युवाहरू आन्दोलित

सरकारलाई कुटनीतिक पहल गर्न दबाब

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १३:५७
Image of https://mayorsap.com/storage/photos/shares/photo-3-4e808246.jpg

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाका लागि भाषा र सीप परीक्षा उत्तीर्ण गरेर पनि लामो समयदेखि जान नपाएका युवाहरूले आइतबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

परीक्षा उत्तीर्ण गरी ‘रोस्टर’मा नाम सूचीकृत भएको दुई वर्ष बितिसक्दा पनि रोजगारीका लागि कोरिया जान पाउने सुनिश्चितता नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

विगतदेखि नै पटक–पटक आवाज उठाउँदै आएका यी विद्यार्थीहरूले सरकारले आफूहरूको भविष्यमाथि खेलबाड गरेको र कोरिया पठाउने प्रक्रियामा ढिलाइ गरेको आरोप लगाएका छन् ।

प्रदर्शनका क्रममा युवाहरूले ‘१२ हजार पीडितको रोजगारी ग्यारेन्टी गर’, ’रोस्टरको अवधि थप गर’ जस्ता नारा लगाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । 

वर्षौँसम्मको मेहनत र खर्च गरेर परीक्षा पास गर्दा पनि श्रम सम्झौता (एलसी) आउन ढिलाइ हुँदा हजारौँ युवाहरूको उमेर हद सकिने र भविष्य अन्योलमा पर्ने जोखिम बढेको उनीहरूको गुनासो छ ।

सरकारले कोरियाली पक्षसँग प्रभावकारी कुटनीतिक पहल गरेर रोकिएका युवाहरूलाई यथाशीघ्र पठाउने वातावरण नबनाएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् ।


Facebook Comments