राष्ट्रियसभा निर्वाचन : मध्याह्नसम्म ५० प्रतिशतभन्दा बढी मतदान

३ बजेभित्र मतदान सकिने

User Image मेयरसाप डेस्क | २०८२ माघ ११ गते १३:४६
Image of https://mayorsap.com/storage/photos/shares/rastiya-sava.png

काठमाडौँ । राष्ट्रियसभाका रिक्त १७ सदस्य पदका लागि आज सातै प्रदेशका राजधानीमा भइरहेको मतदानमा दिउँसो १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।

अहिलेसम्मको विवरणअनुसार कोसी प्रदेशमा ३१३, मधेस प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

कुल १८ पद रिक्त हुने भए पनि कोसी प्रदेशको खस–आर्य कोटामा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ सिटका लागि मात्रै आज प्रतिस्पर्धा भइरहेको हो ।

विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, घोराही, वीरेन्द्रनगर र धनगढीमा तोकिएका मतदान केन्द्रहरूमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले मतदान गरिरहेका छन् ।

कुल दुई हजार ११ जना मतदाता रहेको यस निर्वाचनमा सुरक्षा र व्यवस्थापनका पक्षहरूलाई ध्यान दिँदै आयोगले कार्य अघि बढाइरहेको छ । मतदान सम्पन्न भएलगत्तै मतगणनाको प्रक्रिया सुरु गरिने तयारी समेत आयोगले गरेको छ ।

आज अपराह्न ३ बजेसम्म चल्ने यस मतदान प्रक्रियाले फागुन २० गतेदेखि रिक्त हुने पदहरूको पूर्ति गर्नेछ ।


Facebook Comments