काठमाडौं महानगरले भन्यो– ‘सार्वजनिक कुर्सी हटाएको होइन, नतर्सिनुस्’
व्यवस्थापन र मर्मत गरेर पुनः राखिने
मेयरसाप डेस्क
|
२०८२ माघ ११ गते १६:३८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क र नदी करिडोरमा पैदल यात्रीका लागि राखिएका सार्वजनिक कुर्सीहरू हटाइएको विषयमा चलिरहेको चर्चाप्रति आफ्नो आधिकारिक धारणा स्पष्ट पारेको छ ।
बालेन शाहले मेयर पदबाट राजीनामा दिएलगत्तै सार्वजनिक स्थलका कुर्सीहरू हटाउन थालिएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएपछि महानगरले ती कुर्सीहरू मर्मतसम्भार, रङ्गरोगन र थप व्यवस्थित बनाउनका लागि मात्रै झिकिएको प्रस्ट पारेको हो ।
महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार, सार्वजनिक स्थानमा राखिएका कतिपय कुर्सीहरू पुराना र जीर्ण भइसकेकाले तिनलाई सुधार गरी पुनः प्रयोगमैत्री बनाउन लागिएको हो ।
‘हामीले कुर्सी हटाएका होइनौँ, बरु तिनलाई अझ आकर्षक र व्यवस्थित बनाउन खोजेका हौँ,’ राईले भने, ‘यात्रुको धेरै चाप हुने स्थानहरूमा कुर्सीको सङ्ख्या थपिनेछ भने एकै ठाउँमा एकै प्रकारका कुर्सी राखेर सहरको सौन्दर्यमा एकरूपता ल्याउने महानगरको योजना छ ।’
हाल महानगरले सिंहदरबार–भद्रकाली सडक खण्डमा रहेका फलाम र काठ मिश्रित पुराना कुर्सीहरूको मर्मत र रङ्गरोगनको काम सुरु गरिसकेको छ । मर्मत सकिएलगत्तै ती कुर्सीहरूलाई पुनः यथास्थानमै राखिने विभागले जनाएको छ ।
गत वर्ष २०८१ असोज महिनामा सहरका विभिन्न ११ वटा मुख्य स्थानमा १.५ मिटर लम्बाइ र आधा मिटर चौडाइका कुल १४० वटा सार्वजनिक कुर्सीहरू जडान गरिएको थियो ।
यसअघि भद्रकाली–सिंहदरबार पैदल मार्गमा ११ वटा तथा बागमती नदी करिडोर, गुह्येश्वरी, कोटेश्वर र कालमोचन लगायतका क्षेत्रमा यस्ता कुर्सीहरू राखिएका थिए । महानगरले यो अभियानलाई रोक्ने नभई अझ विस्तार गर्ने लक्ष्य राखेको छ ।
दोस्रो चरणमा थप ४९ वटा नयाँ कुर्सीहरू राख्ने तयारी भइरहेको छ, जसलाई नापी विभाग, तीनकुने–कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर–बबरमहल र कमलपोखरी लगायतका सार्वजनिक स्थलहरूमा जडान गरिने जनाइएको छ ।
Facebook Comments